काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। सांसदहरूले उठाएका विविध प्रश्नबारे उनले जवाफ दिए।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद आस्मा चौधरीले आँखा पाक्ने रोग वडा, पालिका, जिल्ला हुँदै देशैभरि फैलिरहेको छ। धेरै पालिकामा विद्यालयहरू बन्द गरिएका छन्। यसबाट अत्यधिक बालबालिका प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालय यसको निराकरणको लागि के गर्दैछ? भन्दै प्रश्न गरेकी छन्।
उनको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ
देशका विभिन्न भागमा आँखा पाक्ने (अक्युट भाइरल कन्जङ्कटिभाइटिस) संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ। समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधीउपचारको व्यवस्था मिलाइएको छ। यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रबन्धनका विभिन्नं कार्यहरू भइरहेका छन्।