चितवन- भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।
अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो। हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहे पनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए। उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ। गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिए।
उनले भने, ‘उहाँ हिँड्न थाल्नुभएको छ। विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ।’ सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उनले दाबी गरे।