काठमाडौं- अविवाहित युवतीले जन्माएको नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका ६ आरोपीलाई मोरङ प्रहरीले तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
अस्पतालमा प्रसूति गराउन आएकी युवतीले जन्माएकी शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका ६८ वर्षीय स्त्रीरोग विशेषज्ञ डा तपेश्वरलाल कर्णसहित उनको क्लिनिककी कर्मचारी सिराहा कल्याणपुर नगरपालिका– १२ की ३८ वर्षीया निर्मला यादव, प्रसूति गराउने ग्रिनक्रस अस्पतालकी कर्मचारी विराटनगर– ९ बस्ने ३३ वर्षीया सुधा राजवंशी, शिशुलाई जन्म दिने युवतीका प्रेमी भोजपुर हतुवागढी– ४ का २७ वर्षीय गोविन्द राई, शिशु खरिद गर्ने कटहरीकी ४६ वर्षीया दिलमाया राजवंशी र उनका छोरा सोही ठाउँका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने मोरङ प्रहरीले तयारी गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेका सबैजनालाई मानव बेपत्ता बनाएको, रकम लेनदेन गरी मानव बेचबिखन गरेको, संगठित अपराधमा संलग्न रहेको कसुरमा उनीहरूमाथि अदालतमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ। ५ भदौमा पक्राउ परेका उनीहरूलाई प्रहरीले हाल मानव बेपत्ता बनाएको आरोपमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
अस्पतालबाटै नवजात शिशु बिक्री घटना: यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना