काठमाडौं- नेपालमा स्वास्थ्य बीमाको सुरुवात २०२५ सालमै गरिएको पाइएको छ। तत्कालीन बडामहारानी इन्द्र राज्यलक्ष्मी शाहको ४१ औं जन्मोत्सवका अवसरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको पाइएको हो। जसअनुसार नेपालमा स्वास्थ्य बीमाको अवधारणा भित्रिएको मंगलबारदेखि ५५ वर्ष पूरा हुँदैछ।
२०२५ साल भदौ ५ गते बुधबार त्यसको उद्घाटन गरिएको भदौ ६ गतेको गोरखापत्रमा उल्लेख छ। खोज पत्रकार गजेन्द्र बुढाथोकीले सार्वजनिक गरेको तत्कालीन समयको गोरखापत्रमा तत्कालीन महारानी प्रिन्सेप शाहले उद्घाटन गरेकी थिइन्।
काठमाडौं जिल्ला महिला संगठनको आयोजनामा खड्का गाउँ पञ्चायतमा स्वास्थ्य बीमा तथा स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको बताइएको छ। समाचारमा भनिएको छ, 'उद्घाटनका क्रममा मौसुफबाट बम र गोला भन्दा बढी बारम्बार आक्रमण गरिरहने रोगसँग भएको कुरा उल्लेख गरिबक्सिदै मानवमात्रको शत्रु रोगको आमुल नाश गर्नु परेको कुरा व्यक्त गरिबक्स्यो।'
उनले स्वास्थ्य बीमा नौलो कुरा नभएपनि देशको लागि स्वास्थ्य क्षेत्रमा एकदमै नयाँ भएको बताएको समेत समाचारमा उल्लेख छ। यसैगरी तत्कालीन स्वास्थ्य तथा शिक्षा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त स्वास्थ्य बीमाको सुरुवातबाट अरु ठाउँमा पनि स्वास्थ्य बीमा लागु गर्न सजिलो हुने बताएका थिए।