काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलित भएका छन्।
गत साउन १६ गते भएको जीवन निर्वाह भत्ता वृद्धिको लागि विद्यार्थी कल्याण समाज र इन्टर्न संघर्ष समितिले गरेको सिफारिस कार्यान्वयन नभएपछि उनीहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन्।
प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। तीन वर्षदेखि उक्त भत्ता नबढेपछि उनीहरुले बढाउन माग राखेका थिए। विद्यार्थी कल्याण समाज र संघर्ष समितिले महंगी, इन्टर्नसीप भएका अन्य प्रतिष्ठानको समेत हेरेर २३ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो।
यसअघि शान्तिपूर्ण रुपमा दबाब दिएर उक्त सिफारिस लागु गराउन सक्रिय भएपनि व्यवस्थापनले नसुनेपछि उनीहरु साउन ३१ देखि काम नै छाडेर आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनरत चिकित्सक मध्येका एक प्रशान्त राईले आफ्नो माग र समितिको सिफारिसलाई व्यवस्थापनले गम्भीर रुपमा नलिएका कारण पाँच दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिनुपरेको बताए।
उनले भने, 'तीन वर्षदेखि उक्त भत्ता बढेको छ। समयसापेक्ष बनाउन हामीले लामो समयदेखि दिएको दबाबको सुनुवाइ नभएपछि आन्दोलनमै उत्रिएका हौं।'
२०७७ साल मंसिरमा प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको उनले बताए। उक्त सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भएको उनकझ भनाइ छ।
प्रतिष्ठान कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले इन्टर्नहरुको मात्रै नबढाएपछि उनीहरु आन्दोलनमै उत्रिएका हुन्।