काठमाडौं- वीर अस्पतालका एक कर्मचारीले अस्पताल निर्देशकबाट नै आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण भएको आरोप लगाएका छन्। अस्पतालका रेडियोग्राफी निरीक्षक द्धारीका प्रसाद यादवले निर्देशक डा सन्तोष पौडेलले ड्यूटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
यादवले डा पौडेलले आफूमाथि गरेको दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।
रेडियोग्राफी निरीक्षक यादवले ड्यूटीका क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी औषधि बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा अस्पताल निर्देशक डा सन्तोष पौडेलले सत्यतथ्य नबुझी सिटी स्क्यान कार्यकक्ष अगाडि विभिन्न अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै दुर्व्यवहार र हातपात गरेको आरोप लगाएका छन्।
'मिति २०८० / ०४ / ३२ गते बिहान ५:३० बजे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल रेडियोलोजी विभागको सिटी स्क्यानमा कार्यरत रेडियोग्राफी निरिक्षक म द्धारिका प्रसाद यादव ड्यूटीको क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको Ultravist 370mg बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले सत्य तथ्य नबुझी सीटी स्क्यान कार्यकक्षको अगाडी बिरामीहरुकै माझ विभिन्न अपशब्द प्रयोग गरी तथानाम गाली-गलौज, नश्लिय दुर्वव्यवहार र हातपात समेत गरी मानसिक यातना दिएको हुनाले उक्त घटनाको अबिलम्ब छानबिन गरी प्रचलित कानुन बमोजिम निजलाई निलम्बन तथा कार्वाही गरी त्रासरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरीदिनुहुन विनम्र अनुरोध गर्दछु,' यादवले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र उपकुलपति कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।
यादवको उजुरीपछि न्याम्सले यस विषयमा छानबिन गर्न कमिटी गठन गर्ने निर्णय गरेको छ।
डा पौडैल ती कर्मचारीमाथि दुर्व्यवहार र हातपात नगरेको दाबी गरे। उनले ती कर्मचारीको काज फिर्ता भएर साउन २५ गते नै अन्यत्र गइसकेको भए पनि ३२ गते अस्पतालमा बिरामीलाई अन्यत्र औषधि किन्न पठाएको पाएपछि अस्पताल भित्र दलाली गर्ने भनेर प्रश्न सोधेको बताए।
कर्मचारीको आरोपका विषयमा यस्तो छ डा पौडेलको भनाई
उहाँ २५ गते नै काज फिर्ता भएको कर्मचारी हो। काज फिर्ता भएको मान्छे, हाजिर नै नभएको मान्छे त्यहाँ काम गरेर बसिरहेको भेटियो। हाजिर नै नभएको मान्छेले मेरो अफिसमा काम गर्न मिल्यो त? त्यहि माथि बिरामीहरुलाई सिटी स्क्यानमा प्रयोग हुने औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने रहेछन्।
अस्पताल भित्र बसेर त्यसरी दलाली गर्न त पाइएन नि। त्यसमाथि ड्युटीमा नभएको मान्छे। हाम्रो अस्पतालमा उसको हाजिरी काटिइसकेको छ। हाजिर नभइ कसरी ड्युटीमा बस्न मिल्यो?
बिरामीलाई किन बाहिरको फार्मेसीबाट औषधि लिएर आउँ भनेर पठाइयो? उहाँको नियत नै मिलेन। हाम्रो अस्पतालको फार्मेसीमा पाइने औषधि किन्न बाहिर पठाउन मिलेन भनेर मैले किन यस्तो गरेको, यहाँ बसेर दलाली गर्न मिल्छ? भनेर मैले गाली गरेको हो। अरु केही भनेको छैन। रमना भएको मान्छे रमना लिन नमानि बसिरहेको हो। प्रदेशमा समायोजनमा परेको हुनुहुँदो रहेछ। अहिले काज फिर्ता गरेको भनेर मलाई रिस गरेको हो उहाँले।
२५ गतेदेखि उहाँ हाम्रो अस्पतालको कर्मचारी होइन। घटना हिजो बिहीबारको हो। मलाई बिरामीले गुनासो गरेपछि मैले रेडह्याण्ड समातेको हो। अस्पतालको फार्मेसीमा भएको औषधि किन्न बाहिरको निजी फार्मेसीमा किन्न बिरामीलाई पठाएको रहेछ। स्वास्थ्य बीमामा आवद्ध भएको बिरामीले बीमाको सुविधाबाट औषधि पाउँछन्। बाहिर किन्न किन पठाइयो? त्यहाँ धेरै कुरामा अनैतिक काम थियो। अनैतिक काम भएको देखेपछि निर्देशकको हैसियतले मैले गाली गरेको हो। दुर्व्यवहार र हातपात गरेको होइन।
अनैतिक काम गरेको भेटेपछि म कार्यलय प्रमुख भएपछि प्रोत्साहन कसरी गर्नु। गाली त गर्छु नि। काज फिर्ता भएपछि जान नपरोस् भनेर कार्यलय प्रमुख माथि उजुरी हाल्ने र यतै बस्ने योजना हो। मैले दुर्व्यवहार र हातपात गरेको होइन।
हेरौं डा पौडेलविरुद्ध परेको उजुरीको पत्र