रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। विभिन्न रोगका बिरामीलाई लक्षित गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो।
शिविरमा गाउँपालिकाको वडा नम्ब् ३, ४, ५, ६, ७ र सुनपाथी गाउँपालिकाका केही स्थानीयले सेवा लिएका छन्। पिक एन्डेभोर नेपाल ट्रेक प्रालि, अप हिल बोथ वेज एजुकेशन एण्ड रिलीफ फाउन्डेशन क्यानडा, लेथब्रिज रोटरी क्लब क्यानडा र सिद्धी मेमोरियल अस्पताल भक्तपुरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा एक दर्जन चिकित्सकहरूको सहभागितामा १८०० जनाभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका थिए। पिक एन्डेभोर नेपाल ट्रेक प्रा. लि, काठमाडौँका अध्यक्ष पेमा नोर्बु लामाको संयोजनमा डा राजेन्द्र शिल्पकार, डा सरिता सिटौला, डा ओस्ता महर्जन, डा राजीब बस्तोल, डा राम शरण श्रेष्ठ, डा रुजिना प्रजापती, प्रिती लामा, निशा खड़का, शृष्टि कोजु, राधिका शिल्पकार, शुभद्र मल्ल, सरस्वती महर्जन, सबित्री बनमाला, समिक्षा तामाङ र शान्ति सुवाल शिविरमा सहभागी रहेको आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
शिविरको सुभारम्भ गर्दै दोरम्बा गाउपलिकाको कार्यवाहक प्रमुख मैन कुमार मोक्तनले स्वास्थ्य जस्तो महत्वपुर्ण कार्यमा वडा कार्यालय र अस्पतालको सहकार्यको प्रशंसा गरेका थिएl तीन दिनसम्म सञ्चालन भएको शिविरमा पहिलो दिन ४१७, दोस्रो दिन ७९६ र तेस्रो दिन ५९४ सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए।
शिविरमा बिरामीहरूको निःशुल्क जाँच, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो। गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय बासिन्दा खुशी भएका थिए।
यस शिविरमा अर्थोपेडिक, जनरल र फेमिली मेडिसिन, इन्टरनल मेडिसिन, स्त्री र प्रसुती, बाल रोग, ग्याष्ट्राइटिस, रेडियोलोजी, दीर्घकालीन दुखाइ व्यवस्थापन, फिजियोथेरापी, भिडियो एक्स-रे, औषधि विज्ञ र प्रयोगशाला प्राविधिकहरूद्वारा सेवा प्रदान गरिएको थियो।
शिविरमा सहभागी भएका अधिकांश बिरामीहरूलाई हड्डी र जोर्नीको समस्या, मधुमेह (चिनी रोग), ग्यास्ट्रिक, उच्च रक्तचाप, अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने, ढाड दुख्ने र सेतो पानी बग्ने जस्ता समस्या बढी देखिएका थिए। यी लगायत कान र आँखाका धेरै समस्या पनि भेटिएको विज्ञप्तिमा उल्लेख छ।