काठमाडौं- स्वास्थ्य व्यवसायी परिषदको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई २ वर्षसम्म नाम दर्ता प्रमाणपत्र परीक्षा दिन रोक लगाइएको छ।
परिषदको छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षामा अनुर्तिण भइ सातौं नाम दर्ता प्रमाणपत्र परीक्षामा सामेल हुन अनलाईन मार्फत आवेदन दिने दैलेख, ढुङ्गेश्वर वडा नं ६ का ३२ वर्षिय भक्त बहादुर बि सीलाई नाम दर्ता प्रमाणपत्र परीक्षा दिन रोक लगाएको हो।
विसीले परिषदबाट संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षामा उर्तिण नै नभई परिषदबाट जारी हुने नाम दर्ता प्रमाणपत्र स्वयम आफैले नक्कली बनाई जागिरको शिलसिलामा पेश गरेको खुलेको छ।
परीक्षा समिति मार्फत छानबिन गर्दा विसीले पेश गरेको नाम दर्ता प्रमाणपत्र नम्बरमा अर्कै व्यक्तीको नाम दर्ता भएको देखिएकोले परिषदको प्रमाणपत्र नक्कली बनाई दुरुपयोग गरेको ठहर परीक्षा समितिले गरेको छ।
परीक्षा समितिको साउन २८ गतेको निर्णय अनुसार परिषदबाट २०८२ भाद्र महिनासम्म संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षासम्म उनलाई परीक्षा दिन रोक लगाइएको हो।