काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा अस्पतालमा थन्किएर बसेका उपकरणलाई अन्य अस्पतालमा लगेर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयले एक अस्पतालमा प्रयोगमा नआएका उपकरण अन्य अस्पतालमा आवश्यकताको पहिचान गर्दै प्रयोगमा ल्याउन लागेको हो।
मन्त्रालयले पहिलो चरणमा सेती अस्पतालमा रहेको कन्टिन्यूअस रेनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) मेसिन वीर अस्पताललाई हस्तान्तण गरी सञ्चालनमा ल्याउन लागेको हो।
यस्तै, भेरी अस्पतालमा रहेको प्लेटलेट्स अप्रेसिस मेसिन सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई हस्तान्तरण गरी सञ्चालन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यसैगरी नारायणी अस्पतालमा रहेको सिटी स्क्यान मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरी सञ्चालन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्री बस्नेतको सचिवालयका अनुसार स्वास्थ्य संस्थामा कतै उपकरण अभाव हुने र कतै खरिद गरेका उपकरण विभिन्न कारणले प्रयोगमा नआउने अवस्था रहेको हुँदा स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालहरूको अनुगमन गरी प्रतिवेदन पेश गर्ने मन्त्री मोहन बस्नेतको पहिलो निर्णयबमोजिम पेश भएको प्रतिवेदनका आधारमा प्रयोगमा नआएका उपकरणहरू स्वास्थ्य सेवा विभागमा झिकाई आवश्यकता भएका स्वास्थ्य संस्थामा पठाउन सुरु भएको हो।