काठमाडौं- वीर अस्पतालमा एक पुरुषको आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको ७ वटा दाना निकालिएको छ। दोलखाका ७२ वर्षीय एक पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको ७ दाना शुक्रबार इन्डोस्कोपी गरेर निकालिएको हो।
वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा, डा दिवस खड्का लगायतको चिकित्सकको टोलीले इन्डोस्कोपी गरेर ती पुरुषको सानो आन्द्रामा अड्किएका दाना निकालेको हो।
विभागका प्रमुख डा शर्माका अनुसार बान्ता हुने समस्या देखिएपछि ती पुरुषलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो। २ महिनादेखि निरन्तर बान्ता भइरहने समस्या देखिएको पाइएपछि डा शर्माको टोलीले इन्डोस्कोपी गरेर हेर्दा सानो आन्द्रामा लप्सी, लिची र आरुबखडाका दानाहरु अड्किएको भेटेको थियो।
डा शर्माका अनुसार ती बिरामीले आफूले ११ वर्षअघि मात्र लप्सी, लिची तथा आरुबखडा खाएको बताएका थिए। सानो आन्द्रा साँघुरिएको कारण ती दानाहरु वर्षौंदेखि आन्द्रामै अड्किएर बसेका थिए।
शुक्रबार इन्डोस्कोपी गरेर ७ दानाहरु निकालिएको र साँघुरिएको आन्द्रा पनि उपचार गरेर खुलाइएको छ। ती पुरुषलाई अहिले वीर अस्पतालको ग्याष्ट्रोवार्डमा भर्ना गरिएको छ।
तर, अझै केही दाना सानो आन्द्रामा अड्किएकै अवस्थामा रहेकाले बुधबार फेरि इन्डोस्कोपी गरेर निकाल्ने तयारी गरिएको डा शर्माले जानकारी दिए।
उनले भने, ‘मंगलबार पनि इन्डोस्कोपी गरेर हेर्दा ठूला–ठूला दानाहरु रहेको देखिएको छ। त्यसैले भोलि इन्डोस्कोपी निकाल्ने तयारी गरिएको छ।’
आन्द्रामा मासुको हड्डी, पेनको कुनै भाग तथा अन्य वस्तु अड्किएर उपचारका लागि आउने बिरामीहरु देखिए पनि यति धेरै लप्सी, लिची र आरुबखडाको दाना वर्षौंसम्म अड्किएको अवस्थामा आएका बिरामी भने पहिलो पटक भेटेको डा शर्माले बताए।
‘ब्रस, मासुको हड्डी, पेन वा अन्य वस्तु अड्किएर उपचारका लागि थुप्रै बिरामी आउनुहुन्छ,’ डा शर्माले भने, ‘तर यति धेरै लिची, लप्सी, आरुबखडाको दाना अड्किएर आएको बिरामी चाहिँ मैले पनि पहिलो पटक देखेको हो।’