काठमाडौं– मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।
मोरङमा क्लिनिक चलाएर बसेका मनिषको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित नक्कली डाक्टर माथि चलाएको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या अहिलेसम्म एक सांसदसहित ७ जना पुगेको छ।
यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।
त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।
बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन्।