काठमाडौं- प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा सीआईबीले २०७३ सालमा ‘अपरेसन क्वाक’ चलाएको थियो। त्यो बेला भने उनी पक्राउ पर्नबाट जोगिएका थिए। सोही मुद्दामा ७ वर्षपछि उनी पक्राउ परेका हुन्।
'नक्कली डाक्टर प्रकरण' भनिएको उक्त मुद्दामा केही समातिए भने केही फरार भए। फरार रहेका ६६ जनामा एक थिए शर्मा। तत्कालीन समयसम्म आफूलाई चिकित्सकका रुपमा चिनाउने शर्मा पनि सीआईबीले तयार पारेको 'नक्कली डाक्टर'को सूचीमा थिए।
नेपाल मेडिकल काउन्सिलमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सा अभ्यास गरिरहेका डाक्टरहरुमा उनको नाम समेत राखेर अनुसन्धान भइरहेको थियो। पक्राउ पर्ने सम्भावना देखिएपछि त्यो बेला उनले देश छाडेका थिए।
पूर्व सांसद समेत रहेका नवराज सिलवाल प्रमुख रहेको सीआईबीले सुरु गरेको उक्त प्रकरणले पछि निरन्तरता पाएन। सिलवालले २०७३ सालमा आईजीपी हुने प्रयास गरे। तर सरकारले जयबहादुर चन्दलाई बनाएपछि बाहिरिएर २०७५ सालमा सांसद निर्वाचित भए।
सीआईबीले त्यसपछि उक्त फाइललाई अघि बढाएन। त्यो बेला पक्राउ पर्नबाट जोगिएका शर्मा गएको निर्वाचनमा मोरङ- ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भए।
आफ्नै सरकार विरुद्ध बोलेपछि खुल्यो फाइल
राजश्व अनुसन्धान विभागले केही दिनअघि त्रिभुवन विमानस्थल बाहिरबाट एक सय किलो सुन पक्राउ गर्यो। विमानस्थलको भन्सार र सुरक्षा घेरा तोडेर बाहिरिसकेको अवस्थामा सुन पक्राउ परेका कारण गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठायो। उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ।
सत्तापक्षीय दल नेपाली कांग्रेसका सांसद रहेका शर्माले अनपेक्षित रुपमा उक्त विषय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभन्दा चर्को गरी उठाए। एमालेले छानबिनको मात्रै माग गरिरहँदा उनी त्यो भन्दा अघि बढेर दुवै मन्त्रीको राजीनामा माग गर्न थाले। त्यसो नगरिएको अवस्थामा अनसन बस्नेसम्मको घोषणा संसद्मै गरे।
साउन १० गतेको संसद्मा उनले भनेका थिए, ‘उहाँहरुले समय लिने हो भने तीन दिन, पाँच दिन, सात दिन कति समय लिने हो। समय लिएर भन्न सक्नुपर्छ, हामी सात दिन भित्रमा यसको मुख्य नाइके पक्रिन्छौँ। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसे कम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ।’
संसद् बाहिर पनि उनले निरन्तर मन्त्रीद्वयको राजीनामा मागेका छन्। सीआईबीको कस्टडीमा रहेका उनले त्यही दोहोर्याएका छन्। आफूमाथि लागेको नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा अदालतको फैसला आफूलाई मान्य हुने बताए। आफूले मन्त्रीद्वय विरुद्ध दिएको अभिव्यक्तिकै बदला लिन उक्त मुद्दा अघि बढाइएको उनको बुझाइ छ।
सरकार निकटस्थहरु भने सीआईबीले उक्त मुद्दाको अनुसन्धानलाई फेरि अघि बढाउने थाहा पाएपछि सांसद शर्मा चर्को रुपमा प्रस्तुत हुन थालेका हुन्। सय किलो सुनको मुद्दामा बोल्दा आफू पक्राउ परेको पार्नका लागि सत्तापक्षीय सांसद उनले सरकार विरुद्ध नै बोल्न थालेका हुन्।
'अपरेसन क्वाक' चलाउने बेला पनि सरकार भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा थियो। त्यो बेला पनि कांग्रेस सत्ता सहयात्री थियो।