काठमाडौं–गोकर्णेश्वर नगरपालिकाले नगरमा आखा पाक्ने रोग देखा पर्न थालेपछि आँखा शिविर सञ्चालन गरेको छ। समयमै सरुवा रोग नियन्त्रयणका लागि बिहिबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको मेयर दिपक रिसालले बताए। गोकर्णेश्वर नगर अस्पतालको संयोजनमा वडा नम्वर ४ को वडा कार्यालयमा शिविर सञ्चालन गरिएको छ।
बिहान ७ वजे देखि सुरु भएको शिविरमा करिव एक सय जनाले सेवा लिइसकेको वडा नम्वर ४ का वडाध्यक्ष जयराम महतले बताए।
केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ। चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ भनिन्छ। रोग गोकर्णेश्वरमा पनि फैलिन थालेकाले समयमै शिविर सुरु गरिएको नगर प्रमुख रिसालले बताए।
देशभरका अस्पतालहरुको बहिंरग सेवामा आँखा सम्बन्धी बिरामीको चाप बढिरहेको देखेपछि आफूहरुले अस्पताल पुग्न नदिने उद्देश्यका साथ शिविर सुरु गरेको उनले बताए।
आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका बेला गोकर्णेश्वर नगरपालिकाले नेपालमै पहिलो पटक समुदायस्तरमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको निःशुल्क उपचार गर्ने लागेको दाबी उनले गरे।
नगरपालिकाले आँखा सम्बन्धी रोग नियन्त्रण गर्ने उदेश्यले आँखा जाँच सम्बन्धी निशुल्क शिविर राखेर नियमित रुपमा उपचार गर्ने नगर अस्पतालका सूचना अधिकारी टिकाराम खड्काले बताए।
नगरपालिकाकाले बुधबार नै सार्वजनिक सूचना जारी गर्दै नगरबासीलाई आँखाको समस्या भएमा नगर अस्पताल आउन अनुरोध गरेको थियो।
नगर प्रमुख रिसालले बिरामीको संख्या अत्याधिक बढेकाले आँखा पाकेका बिरामीलाई मात्रै छुट्टै जाँच गर्ने र औषधि उपचारको व्यवस्था मिलाइएको बताए। हरेक वर्षायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ।
तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएकम कारण गोकर्णेश्वर नगरपालिकामा पनि प्रभाव पार्ने सक्ने भएकाले रोग नियन्त्रण गर्नका लागि र नगरबासीको स्वास्थ्य अवस्थालाई ख्याल गर्न नगरपालिकाले निःशुल्क आँखा जाँच तथा औषधि उपचार गर्ने रिसालले बताए।
सार्वजनिक रुपमा जारी भएको सूचना मार्फत गोकर्णेश्व नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा समेत उक्त आँखा पाक्ने रोग सम्बन्धी लक्षण देखा परेमा नगर अस्पतालबाट उपचार सेवा लिन अभिभावक तथा विद्यालयलाई अनुरोध गरिएको छ।
आँखा पाक्ने रोग सम्बन्धीको निःशुल्क सिविर भने बिहीबार बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म नियमित रुपमा नगर अस्पतामा संचालन हुने भएको छ। उक्त शिविर सार्वननिक विदाका दिन समेत संचालन हुने छ।