काठमाडौं- पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका छन्।
जाँड-रक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो पक्राउ परेका हुन्।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए। महतोलाई प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो।
महतोले यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए। सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन्। डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीको दाबी छ।
पीडितले अभद्र व्यवहारमा जाहेरी दिएपछि पक्राउ गरी सोमबार म्याद थप गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालय मोरङबाट उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।