काठमाडौं- नेपालमा पछिल्लो केही दिनयता आँखा पाक्ने रोग बढेको भन्दै आँखा रोग विशेषज्ञहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीले सरकारलाई संक्रमण फैलन नदिन आवश्यक कदम चाल्न सुझाव दिएको छ।
सोसाइटीले एक विज्ञप्ति जारी गर्दै सर्वसाधरणदेखि सरकारलाई सुझाव दिएको छ। सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरी र डा पुरुषोत्तम जोशीद्वारा जारी विज्ञप्तिमा देशभरका आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगको चाप दिनप्रतिदिन बढ्दै गएको र यो क्रम अझै बढ्न सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिइएको छ। सावधानी नअपनाए महामारी प्रकोपको रूप लिनसक्ने विषय पनि विज्ञप्तिमा उल्लेख छ।
'आँखा पाक्ने रोग साधारणतया एक्यूट भाइरल कन्जनटिभाइटिसका कारण हुन्छ। यस रोगमा आँखा रातो हुने, चिलाउने, विझाउने, अप्ठेरो महसुस हुने, आँसु बग्ने, कचेरा आउने, टाल्लिने, दुख्ने, ढकनी सुनिने र घाममा हेर्न गाह्रो हुनसक्छ,' विज्ञप्तिमा भनिएको छ, 'यो रोग लागेमा आत्तिनु हुँदैन। आफूले प्रयोग गरेका वस्तु अरुलाई नदिने र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्ने।'
सोसाइटीले यसबाट बच्न सरसफाइमा ध्यान दिन, बिरामीले प्रयोग गरेका सामाग्रीहरु रुमाल, तकिया, औषधि, चश्मा आदि प्रयोग नगर्ने, आँखा छुनुअघि राम्रोसँग हात साबुनपानीले धुने, अनावश्यकरुपमा भीडभाडमा नजान पनि सुझाव दिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
विषयः आँखा पाक्ने रोग बढेको सन्दर्भमा
देशमा केही समयदेखि आँखा पाक्ने रोग बढेको छ । देशभरका आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगको चाप दिनप्रतिदिन बढ्दै गएको छ । यो क्रम अझै बढ्न सक्ने र सावधानी अपनाएनौ भने महामारी प्रकोपको रूप लिनसक्छ ।
आँखा पाक्ने रोग साधारणतया Acute Viral Conjunctivities का कारण हुन्छ। यस रोगमा आँखा रातो हुने, चिलाउने, विझाउने, अप्ठेरो महसुस हुने, आँसु बग्ने, कचेरा आउने, टाल्लिने, दुख्ने, ढकनी सुनिने र घाममा हेर्न गाह्रो हुनसक्छ ।
यो रोग अत्याधिक संक्रमण हुने रोग हो । यसवाट बच्न सरसफाइमा ध्यान दिने, विरामीले प्रयोग गरेका सामाग्रीहरु रुमाल, तकिया, औषधि, चश्मा आदि प्रयोग नगर्ने, आँखा छुनुअघि राम्रोसँग हात साबुनपानीले धुने, अनावश्यकरुपमा भीडभाडमा नजाने ।
यो रोग लागेमा आत्तिनु हुँदैन । आफूले प्रयोग गरेका वस्तु अरुलाई नदिने र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्ने ।
यस रोगको चाप बढ्दै जांदा नेपाल सरकारले विशेष निगरानीमा राखी संक्रमण फैलन नदिन आवश्यक कदम (भिडभाड हुने ठाउँ जस्तै विद्यालय, बजारहरुमा उच्च सर्तकता अपनाउने। चाल्न जरुरी छ । यसका लागि चाहिने सल्लाह सुझाव दिन नेपाल अप्थाल्मिक सोसाइटी सदासर्वदा तत्पर छ ।
धन्यवाद ।