काठमाडौं- कान्ति बाल अस्पतालले एक बालकलाई गलत औषधि चलाएर लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको पूर्णपाठ सार्वजनिक भएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको थियो।
श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका ८ महिनाका बालक आलोक बराललाई गलत एन्टिबायोटिक दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ।
पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको औषधि आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेका थिए। २०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो।
त्यही राति अर्कै बालकका लागि तयार पारिएको औषधि आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षणहरु देखिएको थिए। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार ती लक्षण मेनेन्जाइटिस मलेरियाको औषधिको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर छ।
आदेशमा भनिएको छ, 'सो लक्षणहरु इन्जेक्सन मोन्टाजको साइड इफेक्टको लक्षणसँग मिलेको पाइयो। यसरी अस्पतालको लापरबाहीका कारण गलत औषधिको अधिक मात्रा प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सृजना भएको देखियो।'
अस्पतालको लापरबाहीबाट बच्चाको स्वास्थ्यमा असर पुगेको बताउँदै जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले १५ लाख रुपैयाँ अस्पतालले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। त्यसपछि जिल्ला, उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।
सर्वोच्चले सबै विषय अध्ययन गर्दै परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
हेरौं पूर्णपाठ