एजेन्सी- ‘ब्रेकिङ ब्याड’ फेम अभिनेता मार्क मार्गोलिसको निधन भएको छ। ८३ वर्षको उमेरमा न्युयोर्कको माउन्ट सिनाई अस्पतालमा शनिबार मार्कको उपचारका क्रममा निधन भएको उनका छोरा मोर्गनले पुष्टि गरेका छन्।
मार्क लामो समयदेखि रोगसँग लडिरहेका थिए। मार्कको निधनमा उनका फ्यानसहित हलिउड स्टारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
अभिनेता ब्रायन क्यान्स्टनले लेखेका छन्, 'आज एक साथीको निधनको खबरले म अत्यन्तै दुखी छु। मार्क मार्गोलिस एक अद्भुत व्यक्ति थिए। सेटमा धेरै ठट्टा गर्थे । म उनलाई सधैं सम्झिरहनेछु।'
सन् १९३९ मा फिलाडेल्फियामा जन्मेका मार्गोलिस अभिनय करियर बनाउन न्युयोर्क छिरेका थिए। मार्कले 'स्कारफेस', 'एस भेन्टुरास पेट डिटेक्टिभ', 'ब्ल्याक स्वान' जस्ता सफल चलचित्रमा सहायक भूमिकामा अभिनय गरेका छन्। तर उनलाई उचाईमा भने 'ओज'ले ल्यायो। सन् २०१२ मा बनेको ‘ब्रेकिङ ब्याड’बाट उनले थुप्रै प्रशंसक कमाए।
यसबाहेक उनले 'बेटर कल साउल', 'एसाइलम', 'किंग्सु एण्ड द इक्वलाइज' लगायतका चलचित्रमा अभिनय गरेका छन्।