काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नर्सहरुको न्यूनतम तलब १८ हजार मात्र तोकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। नेपालमा नर्सहरु श्रम शोषणमा परिरहेको समयमा राजनीतिक दलले नै श्रम शोषणलाई प्रशय दिने गरी न्यून तलम स्केल तोकेको भन्दै रास्वपाको आलोचना भएको हो।
रास्वपाका सभापति रवि लामिछाने विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काउन रोजगारी सिर्जना गरिएको भन्दै सार्वजनिक गरिएको विज्ञापनमा नर्सको न्यूनतम तलब १८ हजार तोकिएको छ। उक्त विज्ञापन सार्वजनिक भएसँगै नर्सहरुले सामाजिक सञ्जालमा रवि र उनको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्न थालेका हुन्।
रविले मंगलबार राति सामाजिक सञ्जालमा विज्ञापन सार्वजनिक गर्दै ६ वटा समूहमा रोजगारी खोलिएको जानकारी दिएका थिए। जसमध्ये हेल्थकेयर समूहमा नर्सलाई राखिएको छ। उक्त समूहमा नर्सको तलब १८ हजारदेखि ४५ हजारसम्म उल्लेख गरिएको छ।
'राजनीतिक दलले नै यसरी श्रम शोषण हुने गरी नर्सिङ पेशाको अवमूल्यन गर्न मिल्छ? नयाँ पार्टीले परिवर्तनको आशा देखाएर यसरी निराश बनाउँछ भन्ने सोचेको पनि थिइन्,' एक जना नर्सले सामाजिक सञ्जाललमा आक्रोश पोख्दै लेखेकी छिन्।
सोही विषयमा अर्की नर्सले लेखेकी छिन् 'नेपालका निजी अस्पतालहरुले नर्समाथि अन्याय गरिरहेको समयमा राजनीतिक दलबाट नै कम तलब तोकिदिएर शोषण गर्नेहरुकै साथ दिएजस्तो देखिन्छ।'
रास्वपाले विदेशमा काम गरिरहेका नेपालीलाई उक्त तलब दिएर फर्काउने भनेको छ। तर विदेशमा रहेका नर्सहरुले न्यूनतम एक लाखभन्दा बढी तलब लिएर काम गरिरहेको समयमा १८ हजारदेखि ४५ हजारसम्मको तलबमा स्वदेश फर्किएर सेवा दिन्छन् भन्ने विषयमा शंका उत्पन्न भएको छ।
सामाजिक सञ्जालमा नर्सहरुले उक्त विज्ञापनको विरोध गर्दै नेपाल नर्सिङ संघबाट आधिकारिक धारणा आउनु पर्ने माग गरिरहेका छन्।