काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ। प्रयोगशालाका निर्देशक डा रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताएकी हुन्।
प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको उनले बताइन्। उनले अन्य देशहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रूपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको जानकारी दिइन्।
डा झाले कम जनशक्तिबाट अनुगमन, परीक्षणलगायतका काममा अप्ठ्यारो भएको बताइन्। प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन्। नेपालका तीन हजार १४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ। गुणस्तर नियन्त्रण केन्द्रीय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उनको बुझाइ छ। उनले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरू गर्ने स्थान बनाउनुपर्नेमा जोड दिइन्।
'धेरै प्रयोगशालाहरू अस्पताल मातहत छन्। अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ। त्यहाँका प्रयोगशालाहरू पनि सोझै हाम्रो पहुँचमा छैनन्। जसलाई वर्गीकरण चाहिएको छ, उहाँहरू हामीसँग आउनुहुन्छ। मापदण्ड हामीले एकरूपता बनाए पनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन। अस्पतालहरूको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ। स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौती छ। जनशक्ति अभाव छ,' डा झाले भनिन्, '‘रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ। दुवै जना नवौँ तहको हुनुहुन्छ। दरबन्दीको टाइप पनि मिलेको छैन। सङ्ख्या पनि मिलेको छैन। कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई। एक लाख ३२ हजार सेवाग्राहीको स्याम्पल पनि हेर्नुपर्यो। धेरै जनशक्ति यसैमा लागिरहेको छ। अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अप्ठ्यारो भएकै हो। गुणस्तर नियन्त्रण सम्मका लागि त ठिकै हो। तर अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपर्थ्यो।'
प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरू कम भएको उनी बताउँछिन्। डा झाका अनुसार कार्यालय भनेर बनाइएको संरचनामा अहिले पनि ल्याब सञ्चालन भइरहेको छ। सुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी उनले दिइन्।
उनले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरू आवश्यक पर्ने भए पनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताइन्। स्वास्थ्यको अनुगमन एकीकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा.झाले केन्द्रीय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको जानकारी दिइन्।
‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानीय तहले हेर्ने भनेर वर्गीकरण गरिए पनि प्रभावकारी समन्वय हुन नसकेको उनको भनाइ छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औसत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ।