काठमाडौं– पछिल्ला केही दिनयता नेपालमा डेंगुका बिरामी देखिन क्रम बढ्दो क्रममा छ। गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि तिब्र रुपमा बढ्न थालेको तथ्यांकले देखाएको छ।
पछिल्लो दुई सातामा मात्र तीन हजारभन्दा बढी संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ। सन् २०२३ को जनावरीदेखि जुलाईको दोस्रो सातासम्म नेपालभरमा एक हजार एक सय जति बिरामी भेटिएकोमा जुलाईको अन्तिम सातासम्म आइपुग्दा देशभर ४ हजार ६ १९ जनामा डेंगुको संक्रमण भेटिएको छ।
महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ७० जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
महाशाखाको तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र २ हजार ९७१ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै बागमती प्रदेशमा ७६७, गण्डकी प्रदेशमा ३४७, सुदुरपश्चिम प्रदेशमा ३१८, लुम्बिनी प्रदेशमा १६८ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै मधेश प्रदेशमा २५ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भइसकेको छ।
सबैभन्दा धेरै संक्रमित सुनसरीमा
सन् २०२३ को सुरुवाती अवस्था देखि नै डेंगु संक्रमित देखिएको सुनसरीमा पछिल्लो समय डेंगुको बिरामी तिब्र गतिमा बढ्दै गएका छन्। सुनसरीमा मात्र गत जनावरी देखि २४ जुलाई सम्ममा २ हजार ७३७ जनामा डेंगु पुष्टि भएको छ।
सुनसरीमा जनावरीमा ६ जना, फेब्रुअरीमा २, मार्चमा ३ जनामा डेंगु पुष्टि भएको थियो भने अप्रिल र मे मा एक एक जनामा मात्र डेंगु देखिएको थियो। तर जुन देखि भने डेंगुको संक्रमण बढेर ६६७ जनामा संक्रमण देखिएको थियो। यस्तै जुलाई २४ सम्ममा मात्र २ हजार ५७ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ।
डेंगुका बिरामी बढी देखिएको दोस्रो जिल्ला धादिङमा गत जनावरी देखि २४ जुलाई सममा ४८३ जनामा डेंगु संक्रमण देखिएको छ। सोही अवधिमा कास्कीमा २०८,दार्चुलामा १९०, काठमाडौंमा ८८, संखुवासभामा ७५, म्याग्दीमा ५४ र कञ्चनपुरमा ५२ जनामा डेंगु पुष्टि भइसकेको छ।
सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो। डेंगुका बिरामी बढ्दै गएसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक तथा वार्ड सञ्चालनमा ल्याएको छ।