काठमाडौं- नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालको आज १३४औं वार्षिकोत्सव हो। अस्पताल परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम राखिएको छ। वीर अस्पताल १३४ वर्ष अघि विसं. १९४६ साउन १२ गते १५ शय्यासहित स्थापना भएको हो। वीर अस्पताल हाल नयाँ सर्जिकल भवन सञ्चालनमा आएसँगै ९६० शय्या क्षमताको भएको छ।
अस्पतालको उद्घाटन कार्यक्रममा वीरशम्शेर जवाराको अगाडि देव शम्शेरले लिखित मनत्व्य दिएका थिए। सो क्रममा उनले नागरिकले नि:शुल्क रुपमा उपचार सेवा पाउने गरी स्थापना गरेको उल्लेख गरेका छन्। उनले काठमाडौंसहित तराईमा पनि अस्पताल खोलेको विषयमा लिखित मन्तव्यमा उल्लेख गरेको विषय वीर अस्पतालका पूर्व निर्देशक डा बुलन्द थापाले लेखेको पुस्तकमा उल्लेख छ।
डा थापाले आफ्नो पुस्तकमा वीर शम्शेर जवाराको अगाडि देव शम्शेरले वीर अस्पताल उद्घाटन समारोहमा व्यक्त गरेको धारणाको हस्तलिखित विवरणलाई बुझिने गरी उल्लेख गरेका छन्। डा थापाले प्रा भैरव बहादुर प्रधानको संग्रहबाट डा भीम बहादुर प्रधानबाट उक्त विवरण प्राप्त गरेको पुस्कतमा उल्लेख गरेका छन्।
पुस्तकमा उल्लेख भएअनुसार उद्घाटनका क्रममा अस्पताल खोल्नुको कारण उल्लेख गरेका छन्।
‘काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ। आफ्ना रैती दुनिञांहरुले औषधि नपाई साह्रै दुख पाउँदा रहेछं भन्या जाहेर हुंदा यो हस्पीतल राखि बक्सेको हो। याहाँका रैतिहरु लाई मात्र निगाह भयाको होईन की तराईमा पनि औषधि न पाई धेरै मानिसको नोक्सान भयाको जाहेर भयाको हुनाले तराईमा पनी पीवी नाउँ राखी हस्पीतल खडा गरी वक्सी आफ्ना रैती दुनीञांको एक खर्च नभै अषधि गर्न पाउन्या छन्,' लिखित विवरणमा भनिएको विषय पुस्तकमा उल्लेख छ।
यस्तो छ वीर अस्पताल उद्घाटन समारोहमा उपलब्ध हस्तलिखित विवरण
श्री ३ महाराज वीर शम्शेर जङ्गबाट काठमाडौ रानीपोखरी नेराको हस्पीतल खोली बक्संदा निजामती अफिसर पल्टन सामेल भयाको थियो। श्री कम्यांडर इन चिफ जनरल देव. शम्शेर जङ्ग राणा बहादुरबाट. इसपिच. बोली बक्सेको. हामि. भै भारदार, फौज दुनियांहरुले हामि भाग्यमानि रह्या छौ भनी समझनु। किन भन्या श्री परमेक्षवर.का अनुग्रहले. सव माथि दया र विवेकले पूर्ण भै बक्सेका मालिक श्री ३ महाराज वीर शम्शेर जङ्ग राना बहादुर थोङ लिन् निम्माको काङ्वाङ् स्यान्. प्राइममिनीष्टर याराड कम्यांडर इन चिफ होई वक्स्याको छ आफ्ना रैति दुनिञांहरुले औषधि वेगर दुख पायाको विचार नराख्याको हुनाले अघि अधिका मुख्यात्याहरुले. हस्पीतल न राख्याका हुन।
औल्हे श्री ३ महाराजका उदये भया पछी आफ्ना रैती दुनिञांहरुले औषधि न पाई साह्रै दुख पाउँदा रहेछं भन्या. जाहेर हुंदा यो हस्पीतल राखि बक्सेको हो। याहाका रैतिहरु लाई मात्र निगाह भयाको होईन की तराईमा पनि औषधि न पाई धेरै मानिसको नोक्सान भयाको जाहेर भयाको हुनाले तराईमा पनी पी. वी. नाउँ राखि हस्पीतल खडा गरी वक्सी आफ्ना रैती दुनीञांको एक पैसा खर्च नभै अषधि गर्न पाउन्या हुनाले सबै खर्च हजुर बाट लगाई बक्स्याको छ।
यत्रो खर्च गरी वक्स्या। क्या हो भने सवै माथि ठुलो करुणा राखि वक्स्याको हो। यो मुलुकको तर्किप हुन्यामा र आफ्ना भै भारदार फौज दुनित्रांले सुविस्ता पाउन भंना निमित। यो यौटा काम होईन की अरु पनि कति काम उठाई वक्सिन्या छ। एस्तो विवेकदार मालिक पाउनु हामि सबैको ठूलो भाग्य यही हो। सर्कार बाट सबैको उपकार गरी बक्सेमा श्री परमेक्षरवरबाट पनि हजुको प्रताप बढाउंन्या छ भन्या हामिहरुलाई निश्चय छ।
डाक्टर अदस्नाथले बोलेको इसपिच नेपालमा रैति दुर्नीयाहरु बेरामी हुदा औषधि न पाई बेहीफाजत हुनाले नोक्सान स्मेत भयाको सर्कारमा जाहेर हुदा हजुरबाट आफ्ना दुनिञांका उपर निगाह राखि बक्सी छोटा वडा सबैको रक्षा हवस भंना निमित यो हस्पीतल खडा गरी बक्सेको हो।
यो हस्पीतल बेरामीहरुलाई बस्न सुविस्ता हुन्या हीसाब संग राम्रो गरी बनेको छ। एस्मा चाहीन्या औषधि हात हतियार सबै मौजुद रहयाको छ। बहुत सिपालु जान्या डाक्टर असिष्टेन्ट डाक्टर कम्पाउन्डरहरु पनि देशबाट झिकाई राखि बक्स्याको छ।
बेरामीका हीफाजतलाई जो चाहीन्या भांछे नोकर चाकरहरुको पनी बन्दावस्दा गरी खाना पिन्या सराजाम सुत्न्या पलङ्ग विछर्यौना गैहू दुरुस्त छ। केही कुरामा कमति छैन। उक्त बेरामी १५ लाई हिफाजत साथ रोज रोज खाना पिनालाई चाहीन्या सराजाम स्मेत तयार छ। अरु बेरमीहरु पनी मुर्करर भयाका टायम संममा जति आउछन् तिनीहरुलाई बेथा हेरी बेथा अनुसारको औषधि दिन्या अंजाम भयको छ। बेरामीहरुको हीफाजत पुगोस भंना निमित डाक्टर बस्न्या घर पनि हस्पीतलका नगिच बनाई डाक्टर हर्दम राखि दियाको छ।
यो सबै कुरा तयार भयाको हुनाले सर्कारमा जाहेर गऱ्याको छ जो हुकुम भनि यति भै सके पछि हस्पीतल खोली वक्स्यो ताहा पछि सामेल भै रहेका फोज जंगि नीजामति गहलाई छुट्टी भै आफ्ना आफ्ना घर फियो। (डा बुलन्द थापाको पुस्तकबाट)