काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालभर महामारीको रुपमा डेंगु फैलन संकेत देखिएको भन्दै सचेत रहन अपिल गरेका छन्। मेयर शाहले डेंगु रोग लाग्नै नदिने तर्फ सबै महानगरवासीहरुले आ–आफ्नो तर्फबाट प्रयत्न गर्न र सचेत रहन अपिल गर्दै डेंगु नियन्त्रणका लागि महानगरपालिकाले चालेका सबै कार्यक्रममा सहयोगको लागि अनुरोध पनि गरेका छन्।
मेयर शाहले डेंगुका विषयमा कुनै जिज्ञासा तथा समाधान खोज्ने भए २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन्। उनले बिरामीलाई १०२ नम्बरको नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाएका छन्।
'विगतका वर्षहरुको अनुभवलाई हेर्दा वर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ। नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौं। डेंगु रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नम्बको हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ,' बालेनले सार्वजनिक गरेको सूचनामा भनिएको छ।
हेरौं बालेनले सार्वजनिक गरेको सूचनाको पूर्णपाठ
बिगतका वर्षहरुमा जस्तै बर्षायाममा लामखुट्टेबाट सर्ने डेंगी रोग नेपालभर महामारीको रुपमा फैलिने संकेत देखिदैछ । विशेष गरेर पानी जम्ने सडक, सडक पेटिका खाल्टा खुल्टी, करेसाबारीमा रहने गमला, पानि जम्मा गरी राखिएका भाडा, टायर आदीमा Aedes Aegypti / Aedes Albopictus प्रजातीको संक्रमित लामखुट्टेबाट पारेको अण्डा बाट लार्भा हुँदै वयस्क भएपछि मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखा पर्दछन् ।
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई डेंगी रोग लाग्नवाट बचाउन कार्ययोजना बनाई, चरणबद्ध रुपमा हालसम्म २६९ वटा वडास्तरीय सचेतना र्याली, डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गरिदै आएको छ । प्रत्येक बुधवार बिहान ८ः०० बजेवाट ९ः३० सम्म सवै वडाहरुमा यो अभियान निरन्तर चलिरहेको छ । यस अभियानमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, क्लब, नगरप्रहरी कर्मचारी, पत्रकारहरु सवैको उल्लेख्य सहभागिता रहेकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।
विगतका वर्षहरुको अनुभवलाई हेर्दा बर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्र्तिक सम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ । नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौ । डेंगी रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै 1180 नं. को हटलाइन २४ सै घण्टा चालु रहने छ भने 102 बाट निसुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ ।
डेंगी रोग लागि हालेमा वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकहरुमा प्रयाप्त मात्रामा सिटामोल, जिवनजल लगायत आवश्यक औषधिको प्रबन्ध मिलाईएको छ । सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावक सम्म यो रोगको बारेमा चेतना पुर्याउने र रोगको बारेमा उत्कृष्ट कला देखाउने, बिद्यार्थी र बिद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । पानी जम्ने र लामखुट्टेको बासस्थानको खोजी लार्भा नै नष्ट गर्ने Mosquito Bio-larvicide छर्कने, जनचेतनामूलक सन्देशहरु प्रसारण गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । काठमाडौ महानगरपालिकाको एक्लो प्रयासले मात्र महामारी रोग नियन्त्रण र रोकथाम हुन नसक्ने भएकाले डेंगी रोग लाग्नै नदिने तर्फ सवै महानगरवासिहरुले आ–आफ्नो तर्फवाट प्रयत्न गर्ने र सचेत रहन अपिल गर्दै डेंगी रोग नियन्त्रण कार्यमा काठमाडौ महानगरपालिकाले चालेका सवै कार्यक्रममा सार्थक सहयोगको लागि अनुरोध गर्दछु ।