काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी मेडिकल कलेज र एक सय शय्यामाथिका निजी अस्पतालमा लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ।
मंगलबार मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज र अस्पतालमा कसरी बीमा कार्यक्रम पुन: लागु गर्ने भन्ने विषयमा छलफल भएको थियो। छलफलमा बीमा कार्यक्रम लागु भएपछि सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्नुका साथै अस्पतालहरुको सेवा थप हुँदै गइरहेको विषय पनि उठेको थियो।
सरकारी अस्पतालमा सबै सेवाहरु नहुँदा बिरामीले सास्ती पाइरहेको विषय पनि छलफलमा उठेको एक अधिकारीले जानकारी दिए। उक्त छलफलमा मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका निजी अस्पतालमा बीमा कार्यक्रम चलाउने दिने कि नदिने भन्ने विषयमा पनि गहन छलफल भएको ती अधिकारीले जानकारी दिए।
छलफलमा सहभागी ती अधिकारीका अनुसार निजी मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका अस्पतालमा सरकारले तोकेको शुल्कमा बीमा कार्यक्रम चलाउनु पर्ने, बिगतमा निजी संस्थाले गरेका गडबडी लगायतका विषयमा कुरा उठेपछि उक्त विषयमा थप छलफल गर्दै निष्कर्षमा पुग्ने निर्णय भएको छ।
'निजी मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका निजी स्वास्थ्य सेवा प्रदायक संस्थामा बीमा कार्यक्रम लागु गर्ने सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरुसँग अन्तर्क्रिया गरी सैद्धान्तिक र व्यवहारीक पक्षसहितका सुझावहरु लिएर अर्को बैठकमा पेश गर्ने निर्णय भएको छ,' ती कर्मचारीले भने।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा आएको कार्यक्रम अनुसार बीमा कार्यक्रम कसरी अगाडि बढाउनँदै कार्यान्वयन गर्ने भन्ने विषयमा कार्यविधि तर्जुमा गर्न समिति गठन गरेको छ। मंगलबार सोही समितिसँग भएको छलफलमा उक्त निर्णय भएको ती अधिकारीले जानकारी दिए।
सरकारले विगतमा निजी मेडिकल कलेज र अस्पतालहरुमा पनि बीमा कार्यक्रम चलाएको थियो। स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी संस्थाले मनपरी शुल्क लिन थालेको गुनासो आएपछि सरकारले आर्थिक वर्ष २०७९/८० देखि निजी संस्थामा बीमा कार्यक्रम बन्द गरेको थियो। निजी अस्पतालमा बीमा कार्यक्रम बन्द हुनु अघि ५२ वटा निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम चलेको थियो।
यो पनि:
निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द