काठमाडौं– गत वर्ष महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि बढ्न थालेको छ। सन् २०२३ को जनावरीदेखि २४ जुलाई सम्ममा ४ हजार २८९ जनामा डेंगुको संक्रमण भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६९ जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
महाशाखाको तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र २ हजार ७५४ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै बागमती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४, सुदुरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै मधेश प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भइसकेको छ।
सबैभन्दा धेरै संक्रमित सुनसरीमा
सन् २०२३को सुरुवाती अवस्था देखि नै डेंगु संक्रमित देखिएको सुनसरीमा पछिल्लो समय डेंगुको बिरामी तिब्र गतिमा बढ्दै गएका छन्। सुनसरीमा मात्र गत जनावरी देखि २४ जुलाई सम्ममा २ हजार ५४२ जनामा डेंगु पुष्टि भएको छ।
सुनसरीमा जनावरीमा ६ जना, फेब्रुअरीमा २, मार्चमा ३ जनामा डेंगु पुष्टि भएको थियो भने अप्रिल र मे मा एक एक जनामा मात्र डेंगु देखिएको थियो। तर जुन देखि भने डेंगुको संक्रमण बढेर ६६७ जनामा संक्रमण देखिएको थियो। यस्तै १ जुलाई २४ सम्ममा मात्र १ हजार ८६२ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ।
डेंगुका बिरामी बढी देखिएको दोस्रो जिल्ला धादिङमा गत जनावरी देखि २४ जुलाई सममा ४०१ जनामा डेंगु संक्रमण देखिएको छ। सोही अवधिमा कास्कीमा २०५,दार्चुलामा १९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४ र कञ्चनपुरमा ५२ जनामा डेंगु पुष्टि भइसकेको छ।
सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो। डेंगुका बिरामी बढ्दै गएसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक तथा वार्ड सञ्चालनमा ल्याएको छ।
डेंगुका बिरामीका लागि बीपी प्रतिष्ठानले ३० वेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको जनाएको हो। यस्तै जिल्ला प्रशासन कार्यलय धादिङले विभिन्न सरोकारवाला निकायसँग छलफल गर्दै डेंगुका बिरामी बढ्दै गएसँगै बिरामीको उपचार तथा डेंगु नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
हेर्नुहोस जिल्लागत विवरण