धनगढी- शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य संस्थामा करारमा कार्यरत कर्मचारीको करार अवधि साउन १ गतेदेखि सकिँदा स्वास्थ्यकर्मीविहिन बनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थायी दरबन्दी स्वीकृत नगर्दा सो वडाका दुई स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहिन बनेको हो। वडा कार्यालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कर्मचारीको व्यवस्था नभएसम्मका लागि सेवाहरु बन्द हुने जानकारी गराएको छ।
‘यस वडामा रहेका आधारभुत स्वास्थ्य सेवा केन्द्र र शहरी स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीको करार सम्झौ असार ३१ ग्ते समाप्त हुने र कार्यालयहरुमा कुनै पनि कर्मचारी स्थायी नभएकोले स्वीकृत दरबन्दी अनुसारका तह, श्रेणी, समुह–उपसमुहका स्थायी कर्मचारी पठाइदिन निर्देशन गरिएको छ’ वडा कार्यालयको पत्रमा भनिएको छ –‘दरबन्दीसहितको कर्मचारी नपठाएको सन्दर्भमा साउन १ गतेदेखि पूर्ण रुपमा सेवा बन्द गरिनेछ। सवाग्राहीमा पर्न जाने असुविधा समेतको जिम्मेवारी नगरपालिकाले व्यहोनुपर्ने छ।’
शुक्लाफाँटामात्र नभई धनगढीमा रहेका वडा स्वास्थ्य चौकीहरुमा पनि स्वास्थ्यकर्मीको अभाव रहने देखिएको धनगढीका स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए। धनगढीका १९ वटै वडामा स्वास्थ्य चौकी रहेका छन्। तर, अहिलेसम्म दुई वटा स्वास्थ्य संस्थामा मात्र दरबन्दी स्वीकृत भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १७ स्थित आयुर्वेद्ध केन्द्रकोमात्र मन्त्रालयले दरबन्दी स्वीकृत गरेको र अन्यमा नभएको उनको भनाई छ।
१९ वडा रहेको धनगढीमा दुई वटा स्वास्थ्य संस्था गरि १६ जनाकोमात्र दरबन्दी रहेको उनले बताए। उनले भने –‘दोहोरो सहमतिमा कामकाजमा कति कर्मचारी छन भन्ने यकिन छैन्। कर्मचारी घटाउने भन्दा पनि संघिय मन्त्रालयले वडामा रहेका आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी दरबन्दी स्वीकृत गर्नुपर्छ।’
संघीय सरकारले दोहोरो सहमतिमा कामकाजका लागि दरबन्दीबाहेकको ठाउँमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता हुन भनेको छ। तर, धनगढी उपमहानगरपालिकाले त्यसको गलत व्याख्य गरेर समायोजन मिलानमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई साउन १ गतेदेखि हाजिर नगराउन निर्णय गरेको छ। समायोजन मिलान भइसकेका स्वास्थ्यका कर्मचारीलाई हाजिर नलगाउन उपमहानगरपालिकाले भनेपछि ती कर्मचारीहरु उपमहानगरपालिकाले अन्याय गरेको भन्दै साउन १ गतेदेखि धर्नासहितका विरोधका कार्यक्रम अघि बढाएका छन।
समायोजन मिलान भई कार्यरत ३३ जना स्वास्थ्यकर्मीलाई साउन १ गतेदेखि हाजिर नलगाउन पत्र पठाएको थियो। तर, कर्मचारीहरुले सो पत्र अहिलेसम्म बुझेका छैनन्। ‘समायोजन मिलान भएर म यहाँ काम गरिरहेको थिए। प्रमुख प्रशासकिय अधिकृतले २६ गते श्रावण महिनाको हाजिरीमा रातो मसिले ‘फिर्ता गरेको’ कैफियत उल्लेख गरे। २८ गते उपमहानगरपालिका कर्मचारी सुरेन्द्र कार्कीले पत्र बुझाउदा लिएनौं’ स्वास्थ्यकर्मी कृष्ण बोहराले भने–‘प्रमुख प्रशासकिय अधिकृतले संघको पत्रको गलत व्याख्य गरेर हामीमाथि अन्याय गरेका छन्।’
उपमहानगरपालिकाले समायोजन यकिन भएका २३ जनाको नामावली निकाल्दै दाबी विरोध गर्न भनिएको थियो। धनगढीमा हाल ५४ जना कर्मचारी कार्यरत छन्। तर, यो संख्यानी अपुग रहेको स्वास्थ्य महाशाखा प्रमुख अवस्थीले बताए। उनले भने –‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वडामा आधारभुत स्वास्थ्य चौकी बनाउने नीति लियो। सोही अनुसार धनगढीका १९ वटै वडामा स्वास्थ्य संस्था छन्। तर, कर्मचारी दरबन्दी भने २०७४ अघिकै बनेको छ। अहिले पनि स्वास्थ्यकर्मी अपुग छ।’
उनले एक आधारभुत स्वास्थ्य चौकीमा कम्तिमा तीन जना रहने गरि नयाँ दरबन्दी स्वीकृत गरिएमा केही समस्या कम हुने बताए। उनले स्वास्थ्यकर्मी घटाउँदा सरकारले लिएका लक्ष्यहरुमा पनि असर पुग्ने बताए। उनले भने –‘अहिले वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम, सामान्य विरामीलाई उपचार, निःशुल्क औषधि वितरण, सरकारका राष्ट्रिय कार्यक्रम पनि चलेका थिए। स्वास्थ्यकर्मी घटाउँदा यी कार्यक्रम स्वतः प्रभावित हुन्छन्।’
फूलबारी, पटेला स्वास्थ्य संस्था पनि एक जना कर्मचारीको भरमा चलिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।