कैदीबन्दीको उपचार हुने केन्द्रीय कारागार अस्पताल काठमाडौंमै भएपनि धेरैले यसको नाम भने सुनेका छैनन्। गृह मन्त्रालयबाट सञ्चालित कारागार अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट चिकित्सक तथा स्वास्थ्यकर्मी पठाइन्छ। डा प्रकाश बुढाथोकी आफू प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएर अस्पतालको जिम्मेवारी सम्हाल्न थालेपछि कारागार अस्पतालप्रतिको बुझाइ फेरिएको बताउँछन्। उनले आफूले प्रमुख मेसुको जिम्मेवारी सम्हालेपछि अस्पतालमा सेवा विस्तार गर्दै विशेषज्ञ सेवाहरु सञ्चालन गरेको जानकारी दिए। डा बुढाथोकी कारागार अस्पतालको जिम्मेवारी सम्हालेपछि के-के काम भए? अस्पतालमा भइरहेका सुधार र उनले भोग्नु परेका चुनौती लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा बुढाथोकीसँग गरिएको कुराकानी :
केन्द्रीय कारागार अस्पतालमा आउँदै गर्दा तपाईंको योजना के थियो?
केन्द्रीय कारागार अस्पताल गुमनाम जस्तै थियो। म यहाँ आउँदै गर्दा यो संस्थालाई सबैको मुखमा आउने, आँखाले देखिने र सुनिने संस्था बनाउँछु भन्ने सोचेको थिएँ। त्यही अनुसार योजना पनि बनाएँ। यहाँ म आउँदा कर्मचारीको दरबन्दी ६८ जनाको भएपनि कार्यरत कर्मचारी ३५ जना मात्र थिए। यहाँ आउनेमध्ये पनि कामको चाप कम हुने, गर्भवतीको योजना बनाएका, बाहिर पढ्न जानका लागि योजना बनाइरहेकाहरु धेरै थिए। यहाँ आउने अनि बिदामा बस्ने पनि धेरै हुने रहेछन्। तर यो अस्पताल हो। यहाँ पनि चौबिसै घण्टा सेवा हुनुपर्छ भन्ने योजनासाथ म आएको थिएँ। यहाँ ड्युटीको लोड पर्दैन भन्ने सोचाइ बोकेर आउनेलाई मैले यो अस्पताल हो, यो अस्पतालकै रुपमा २४ सै घण्टा खुल्नुपर्छ र २४ सै घण्टा चल्नुपर्छ। नियम कानुन लागु हुनुपर्छ। नियम कानुन लागु गर्छु भन्ने सोचका साथ यहाँ आएको हुँ।
यहाँ आएपछि अस्पतालको अवस्था कस्तो पाउनुभयो? बाहिर अरुले सोचजस्तै रहेछ कि फरक रहेछ?
कर्मचारीको टिम राम्रै भएको पाएँ। यो गृहमन्त्रालय अन्तर्गतको अस्पताल हो। यहाँ स्वास्थ्यका कर्मचारी मात्र स्वास्थ्य मन्त्रालयबाट खटाइन्छ। प्रशासन, बजेटको विषयमा गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागबाट हुन्छ। गृहको प्रशासन भएको हुनाले र टिम राम्रो भएकाले पनि एक तरिकाले हिँडिरहेको संस्थालाई अलिकति परिवर्तन गर्न खोज्दा, सेवा विस्तार गर्न खोज्दा, समय बढाउन खोज्दा सेवालाई गुणस्तरिय बनाउन खोज्दा अपवाद बाहेक राम्रो नै भयो। अहिले मैले बनाएको सिस्टममा सबै अभ्यस्त हुनुभएको छ। अहिले केन्द्रीय कारागार अस्पताल सबैले सुन्ने संस्था भएको छ। अहिले कारागार अस्पतालको काम भइरहेको छ रे भनेर गृह मत्रालय, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय सबैले सकारात्मक कुरा गर्नुहुन्छ। पहिला त यो अस्पताल कहाँ छ कस्तो छ भन्ने जानकारी नै थिएन। गुमनाम जस्तै भएको अस्पताललाई अहिले सबैले चिन्ने बनाउन सकेको छु।
यहाँ आइरहँदा अस्पतालको सेवा सुधार तथा विस्तारमा कस्तो सहयोग पाउनुभएको थियो? पहिलो काम के भयो तपाईं आएपछि?
विदेशी मुलुकसँग हरेक कुरामा हामी मानव अधिकार भनेर सम्झौताहरु गरिहाल्ने। तर देशमा मानवअधिकार कार्यान्वयन नगर्ने परिपाटी रहेको कैदीबन्दीको हकमा पनि त्यही लागु भएको देखिन्छ। उनीहरुको मानवअधिकारको कुरा, खानपान, जीवनशैली, औषधि उपचारका कुरामा युएन लगायत अन्तर्राष्ट्रिय संघसंस्था निकायसँग प्रतिवद्धता जायर गरिसकेको तर यहाँ कार्यन्वयन नभएको अवस्थ थियो। तर कैदीबन्दीको अधिकारको विषयमा भन्न, बोल्न, लेख्न चाँही सुरक्षाको विषयसँग जोडेर बाहिर आउने गरेको कुरालाई तोड्न सकेका छौं। हरेक कैदीबन्दी नेपाली वा विदेशी जो सुकै भएपनि उसलाई नेपालको नियम कानुन लागु हुन्छ। सोही अनुसार प्रत्येक कैदीबन्दीले पाउने सुविधा उस्तै हो। उनीहरुले पाउने स्वास्थ्य अधिकारको सुविधालाई हामीले सहज बनाउने प्रयासमा लागेका छौं।
कैदीबन्दीको स्वास्थ्य स्वास्थ्य बीमा गर्ने व्यवस्था गर्न लागेको छु। यहाँ गृह मन्त्रालयको प्रशासन तर्फको कर्मचारी र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तर्फका कर्मचारी हुँदा यहाँ समन्वय अभाव ठूलो समस्याको रुपमा थियो। त्यो समस्यालाई अहिले समाधान गर्न सकिएको छ। दुवै मन्त्रालयका सचिवलाई सँगै राखेर अस्पताल सञ्चालनको विषयमा बैठक समेत गर्न सके। त्यो बैठकले कार्यदल गठन गरेर गृह मन्त्रालयको नीति योजनाका प्रमुख, स्वास्थ्य मन्त्रालयको नीति योजनाका प्रमुख, स्वास्थ्य सेवा विभाग, कारागार व्यवस्थापन विभाग र केन्द्रीय कारागार अस्पतालको मेसु रहने गरी टाक्सफोर्स गठन भयो। यो टाक्सफोर्स गठन हुनुको कारण यहाँका कर्मचारी तथा स्वास्थ्यकर्मीका विषय गृह र स्वास्थ्यले बुझ्न सहज होस् भनेर नै बनाइएको हो। यसअघि स्वास्थ्यका कर्मचारी यहाँ आइसकेपछि स्वास्थ्य मन्त्रालयले गृहको कर्मचारी मान्ने, स्वास्थ्यकर्मीलाई गृहले स्वास्थ्य मन्त्रालयको कर्मचारी भनिदिने समस्या थियो। यसो हुँदा स्वास्थ्यकर्मीको अभिभावक को हो भन्ने अन्यौलता थियो। जसले गर्दा चिकित्सकहरु यहाँ आउनै नचाहने पनि हुनुहुन्थ्यो। तर अब टास्कफोर्स भएपछि त्यो विषय समाधान भएको छ। कैदीबन्दीको स्वास्थ्यका लागि गृह मन्त्रालयले के गर्ने र स्वास्थ्य मन्त्रालयले के गर्ने भन्ने कुरा निर्णय गर्न र नीतिगत निर्णय गर्ने कुराहरुमा सहजिकरण गर्न पनि यो टाक्सफोर्स आवश्यक पर्यो। काम गर्न सबैको सकारात्मक साथ र सहयोग मिलनै रहेको छ।
कारागार अस्पताल कस्तो खालको अस्पताल हो भन्ने धेरैलाई जानकारी नै छैन । यो अस्पताल कस्तो सेवा दिने अस्पताल हो बुझाइदिनुस् न?
केन्द्रीय कारागार १९७१ मा सदर जेल भनेर स्थापना भएको थियो। २०२० सालमा त्यही सदर जेलको एउटा कोठामा स्वास्थ्यकर्मी बसेर कैदीबन्दीलाई स्वास्थ्य सेवा प्रदान गरिन्थ्यो। पहिला पहिला चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कैदीबन्दीको स्वास्थ्य जाँच गर्न गएको समयमा जेलभित्र नै उनीहरुलाई कैदीबन्दीले बन्दक बनाएर सरकारसँग विभिन्न मागहरु गर्ने गरेपछि कैदीबन्दीका लागि छुट्टै अस्पताल हुनुपर्छ भन्ने सोचका साथ २०६८ सालमा केन्द्रीय कारागार अस्पतालको भवन बनाउने योजना बन्यो। २०७० सालमा केन्द्रीय कारागार अस्पताल १५ शय्यामा सञ्चालन आयो। १५ शय्याको अस्पतालको रुपमा दरबन्दी स्वीकृती भएर अस्पताल सञ्चालन भयो। २०७६ सालमा यो अस्पताल ३० शय्याको भयो। त्यसपछि यहाँ ११ औं तहको मेसुको दरबन्दी सिर्जना भयो र केही विशेषज्ञ चिकित्सकको दरबन्दी पनि सिर्जना भयो।
केन्द्रीय अस्पताल भएकाले कारागार अस्पताल पनि ५० वा १०० शय्याको हुनुपर्छ। र त्यही अनुसार कैदीबन्दीको रोगको भार र रोगको प्रकृती अनुसार विशेषज्ञहरुको दरबन्दी र सेवाहरु हुनुपर्छ भनेर नियमावली बनाउने तयारी पनि छ। यहाँ अहिले कैदीबन्दीहरुका लागि जनरल मेडिकल अफिसरले स्वास्थ्य जाँच गर्ने, सामान्य ल्याब, भिडियो एक्सरे, एक्सरे सेवा, विशेषज्ञ सेवाहरुमा दन्तरोग, आँखा, छाला तथा यौनरोग, मानसिक रोग विशेषज्ञ र एमडिजिपी तथा फिजिसियनको सेवा छ। रेडियोलोजिष्ट सेवा पनि यहाँ छ।
कैदीबन्दीमा रोगको भार कस्तो छ?
यहाँका कैदीबन्दीमा रोगको भार समाजमा जस्तो छ त्यस्तै नै हो। समाजमै रहेका मानिसहरु विभिन्न कारणले अपराध गरेर कैदीबन्दी बनेका हुन्। यहाँ समाजमा भन्दा बढी देखिएको समस्या भनेको मानसिक समस्या हो। केन्द्रीय कारागारमा आफ्नो परिवार र समाजदेखि छुट्टिएर बस्नुपर्दा, दिनभरी एकैठाउँमा बसिरहन पर्दा कैदीबन्दीमा मानसिक समस्या बढी देखिएको छ। यहाँको करिब २० प्रतिशत कैदीबन्दीमा मानसिक समस्या देखिएको छ। कसैमा भर्खरै सुरुवाती लक्षणहरु देखिएको छ भने कसैमा डिप्रेसन, एन्जाइटी लगायतका समस्या छन्। अर्को कारागारभित्रको खानपान र जीवनशैली नमिल्दा नसर्ने रोगहरु पनि धेरै छन्। मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल बढी भएका, मिर्गौला, श्वासप्रश्वासका बिरामीहरु पनि छन्। मिर्गौला खराबी भएर डायलाइसिसमा रहेका ७ जना बिरामी छन्। जो नियमित डायलाइसिस गराइरहेका छन्।
यहाँ भित्र एकैपटक धेरै जनालाई सरुवा रोग देखिने समस्या पनि छ। जस्तो कोभिडको समय, डेंगुको प्रकोप देखिँदा, कमनकोल्ड, छालाका बिरामीहरुको समस्याहरु एकैपटकमा धेरैमा देखिने समस्या हुन्छ। बसिरहने, हिँडडुल गर्ने बानी नहुँदा हाडजोर्नीका बिरामीहरु पनि धेरै हुनुहुन्छ। यहाँ कैदीबन्दीको मात्र उपचार हुने हो। केन्द्रीय कारागारमा तीनवटा ब्लक छन्। महिला सुधार गृह, भद्र सुधार गृह र केन्द्रीय सुधारगृह छ। यहाँ सुरुमा महिला सुधार गृहका बिरामीहरुलाई प्रहरीले लिएर आउनुहुन्छ। उहाँहरुको स्वास्थ्य परीक्षणहरु गरिन्छ। उहाँहरुलाई सुधार गृहमा पुर्याएपछि अनि बल्ल केन्द्रीय र भद्र सुधारगृहका बिरामीकालागि गेट खुला गरिन्छ। महिला र पुरुष सबैलाई एकैपटक उपचारका लागि अस्पतालमा ल्याइँदैन।
कारागारभित्र नै झडप भएर घाउचोट लागेका बिरामी कत्तिको हुन्छ?
कारागार भित्र पनि कैदीबन्दीको नियम र अनुशासन हुन्छ। कहिलेकाँही ग्रुप फाइट, ग्याङ फाइट भएर चोटपटक लागेकाहरुको पनि आकस्मिक उपचार गर्नुपर्छ। तर यस्तो घटना कम नै भएको पाएको छु।
कारागार अस्पतालमा कैदीबन्दीको उपचार हुनेभएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीमा सुरक्षाको हिसाबले त्रास रहन्छ कि रहदैन?
कैदीबन्दी विभिन्न घटनाका अपराध गरेर कैदी जीवन विताइरहेका व्यक्ति हुन्। उनीहरुमा नै रोग लाग्दा तथा बिरामी हुँदा यहाँ उपचार गराउने हो। यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षाको महशुस गर्नुभएको छैन। किनकी कैदीबन्दी कारागार अस्पतालमा उपचारका लागि प्रवेश गरेपछि उहाँहरु हाम्रो लागि बिरामी हो। राष्ट्रपति, प्रधानमन्त्री होस् वा कैदीबन्दी हामी चिकत्सक स्वास्थ्यकर्मीका लागि जुन पद वा जस्तो व्यक्ति भएपनि उपचारका लागि आउने व्यक्ति बिरामी हो। हामीले उपचारका लागि आएका कैदीबन्दीलाई कैदीबन्दी सोच्यौं वा सोही व्यवहार देखायौं भने आफूलाई डर लाग्ने हो। त्यो व्यक्ति बिरामी हो भन्ने सोच राखेपछि हामीमा डरत्रास हुँदैन। उनीहरुले पनि आफ्नो उपचार गर्ने चिकित्सक स्वास्थ्यकर्मी नै सोच्नुहुन्छ। कैदीबन्दीको उपचारका लागि ल्याइदा सुरक्षा व्यवस्था पनि हुने भएकाले खासै डर हुँदैन।
कारागार भित्र त भिआइपी कैदीबन्दीहरु पनि छन्। उनीहरुले यहाँ उपचार गराउँदा सुविधा बढी खोज्ने गर्छन् कि गर्दैनन्?
सरकारको नियम अनुसार विदेशी, नेपाली, सामान्य र भिआइपी सबै कैदीबन्दीलाई एउटै नियम छ। अस्पतालमा उपचार गराउने क्रममा पनि उनीहरुलाई एउटै नियम लागु हुन्छ। हामी चिकित्सक स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिक र अलि बढी सिकिस्त बिरामीलाई स्वास्थ्य उपचार गराउँदा प्राथमिकता दिन्छौं, तर भिआइपी हो भनेर छुट्टै सुविधा हुने, छुट्टै भर्ना हुने सुविधा छैन।
कारागार अस्पतालमा अन्य कारागारका बिरामी पनि उपचारका लागि आउँछन्? यसले कति बिरामीलाई सेवा दिन सक्छ?
देशभर २७ हजार कैदीबन्दी छन्। केन्द्रीय कारागारमा ३५ सय कैदीबन्दी छन्। कैदीबन्दीहरुको उपचार हुने सरकारको यो मात्र अस्पताल हो। ३० बेडको अस्पताल हो। जसमा ३ बेड आकस्मिक छ, १० बेड मानसिक रोगका बिरामीका लागि छुट्याइएको छ। बाँकी जनरल वार्ड हो। अहिले दैनिक २०० बिरामीले सेवा लिइरहेका छन्। अन्य जिल्ला वा प्रदेशमा अस्पताल छैन। जुनजुन जिल्लामा कारागार कार्यलयहरु छन् त्यहाँका कैदीबन्दीलाई स्वास्थ्य समस्या हुँदा वा स्वास्थ्य उपचार गराउनुपर्दा जिल्ला अस्पताल वा प्रादेशिक अस्पतालमा सामान्य उपचार गराउने व्यवस्था छ। तर जटिल समस्या भएको र निको नभएका बिरामी छन् भने ती कैदीबन्दीको केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिन्छ। र यहाँबाट नियमित उपचार गराइन्छ। हाम्रो कारागार अस्पतालमा केन्द्रीय कारागारमै रहेका कैदीबन्दीको नियमित उपचार हुने गर्छ। कारागार अस्पतालमा नभएको कुनै विशिष्टकृत सेवाको आवश्यक पर्यो भने सरकारका उच्च तहका अस्पतालसँग सम्झौता गरिएको छ। ती अस्पतालमा रेफर गरिन्छ। अहिलेसम्म सरकारी, निजी र सहकारी गरेर २१ अस्पतालसँग रेफरलका लागि सम्झौता गरिएको छ। ती २१ वटा अस्पतालसँग सम्झौता गर्दा कैदीबन्दीलाई छिटो उपचार गराउन सहज हुन्छ। कैदीबन्दीले अस्पताल जाँदा भाग्ने जोखिम रहँदैन।
अर्को कैदीबन्दीको उपचारमा रकमबीना बनाउन पनि हो। सम्झौता गरिएका अस्पतालहरुमा रेफर सिट बनाएर प्रहरीको साथमा कैदीबन्दी उपचारका लागि जान्छन्। त्यहाँ पनि कैदीबन्दीको उपचारका लागि फोकल पर्सन हुन्छ उहाँमार्फत उपचार गरेर फर्किन्छन् । उपचार खर्च अस्पतालको खातामा उहाँबाट नै पठाइन्छ। उपचारको विषयमा कैदीवन्दीको कुनै गुनासो छैन।
कैदीबन्दीको सबै उपचार खर्च सरकारले नै दिन्छ?
सबै कैदीबन्दीको उपचार सरकारले नै तिर्ने गर्छ। कतिपयको मुटुको भल्भ फेर्ने, जोर्नी प्रत्यारोपण गरेको लाखौं खर्च पनि सरकारले नै तिरिरहेको छ।
केन्द्रीय कारागारमा नियमित औषधि खाने बिरामीको संख्या कति छ?
केन्द्रीय कारागारमा दैनिक औषधि खाने दीर्घरोगका बिरामी १६ सय बढी छन्। उनीहरुलाई चाहिने औषधि हामीले उपलब्ध गराउछौं। कैदीबन्दीहरुले सिधैं सबै औषधि दिइदैन। भित्र रहेको क्लिनिकमा औषधि खाने सबै कैदीबन्दीको लिष्ट छ। उनीहरुले कुन समयमा के औषधि खाने भनेर विवरण छ सोही अनुसार औषधि दिइन्छ।
भर्ना हुने बिरामीको दर कस्तो छ?
सरदरमा १० देखि १२ जना बिरामी भर्ना हुन्छन्। कहिलेकाँही महामारी वा संक्रमणको समयमा भने पुरै बेड भरिन्छ। कोभिड, डेंगु, झाडापखालाको बिरामीहरुले कहिलेकाँही बेड भरिने गर्छ।
कारागार अस्पतालबाट दैनिक अन्य अस्पतालमा कति बिरामी रेफर हुन्छन्?
अहिले दैनिक २३ जनासम्म बिरामी कैदीबन्दी रेफर गरिन्छ। उनीहरुमा जटिल समस्या भएको वा विशिष्टकृत सेवा आवश्यक पर्दा रेफर गरिन्छ। मुटुको समस्या हुने गंगालाल जान्छन्, मिर्गौला वा अन्य विशिष्टकृत सेवा लिन वीरमा जान्छन्। हाडजोर्नीको समस्या हुँदा ट्रमा जान्छन्। डायलाइसिसका लागि मानवअंग प्रत्यारोपण केन्द्र वा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा जान्छन्। यसरी रेफर गर्दा पहिलो प्राथमिकता सरकारी अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र तेस्रोमा निजी अस्पतालहरु छन्।
तपाईं यहाँ आउनुभएपछि के-के सेवाहरु विस्तार गर्नुभयो?
म आएपछि कारागार अस्पतालमा काम गर्ने कर्मचारी र उनका परिवारलाई निट्शुठल्क उपचार गराउन कार्डको व्यवस्था गरिदिए। महिला कर्मचारीका लागि अस्पतालमै स्तनपान कक्षको व्यवस्थापन गरिदिए। यहाँ सरुवा भएपछि स्वास्थ्यकर्मीले तालिमहरु नपाउने समस्या थियो। म आएपछि आफैंले पहल गरेर स्वास्थ्य सचिव, तालिम केन्द्र सबैसँग समन्वय गरेर अहिले तालिमहरु पाउने व्यवस्था गरेँ। कैदीबन्दीको उपचार सेवा विस्तारमा कैदीबन्दीका लागि एम्बुलेन्सको व्यवस्था गरेँ। कारागार अस्पतालको आफ्नै फार्मेसी सेवा सुरु गरेँ। अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन हुने व्यवस्था गरेँ। पहिला जनरल वार्ड मात्र थियो। १० बेडको मेन्टल वार्ड पनि म आएपछि नै सुरु भयो। विशेषज्ञ सेवाहरुमा मानसिक रोग विशेषज्ञ केही करार, केही मन्त्रालयसँग मागेर ल्याइयो। फिजिसियन, छाला तथा यौन रोग विशेषज्ञ ल्याएँ। फिजियोथेरापी सेवा पनि सुरु गरियो। महिला तथा प्रसूति सेवा सुरु गरियो। हामी आएपछि कारागार भित्र पनि स्वास्थ्यकर्मी पुगेर स्वास्थ्यजाँच गर्ने गरेको छु। कैदीबन्दीहरुले औषधि खाएको छन्, भित्र रोग नियन्त्रण तथा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरेका छौं। कारागार भित्र स्वास्थ्य निरीक्षण गर्ने काम पनि म आफैंले गरिरहेको छु। कारागार भित्र नै मनोसामाजिक परामर्श, योग सेवाहरु पनि सञ्चालन गरिरहेका छौ। प्राथमिक ट्रमा उपचारको तालिम नाइकेहरुलाई दिएका छौ। अहिले कारागार भित्र रोग प्रवद्र्धानत्मक कार्यक्रम चलिरहेको छ। अस्पतालको सम्पूर्ण टिमले गर्दा नै यो सफल भएको हो। टिमवर्क राम्रो छ।
भिआइपी तथा भिभिआईपीहरु कुनै मुद्धामा जेल परेपछि बिरामी भएँ भनेर अस्पताल भर्ना हुने प्रवृत्ति देखिन्छ नी ?
मैले नाम लिइन तर केही व्यक्तित्वहरु पुर्पक्षका लागि कारागार चलान हुनुहुन्छ। तर उहाँहरु कारागारमा बस्न चाहनुहुन्न। उहाँहरु अस्पतालमा बिरामी छु भनेर अस्पतालमा रेफर गरिदिन मलाई आग्रह पनि आएको थियो। मैले चाँही सबैभन्दा पहिला कारागार अस्पताल आएर यहाँ स्वास्थ्य जाँच गराउँछु। यही उपचार हुने सम्भावना रहेमा रेफर गर्न मिल्दैन भनिदिएँ। यसरी थुप्रै मानिसहरु कारागार अस्पतालमा सेवा विस्तार हुँदा रोकिनुभएको छ।
कारागार अस्पतालको विकास र विस्तार कसरी भइरहेको छ?
यदी १०० बेड वा ५० बेडको केन्द्रीय कारागार अस्पताल बन्ने हो भने अप्रेशन सेवा, आइसीयूको व्यवस्था गरौं भनेर मैले गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको छु। तर यहाँको कारागार नै तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा केपी ओली संग्राहलय घोषणा गरिएको रहेछ। जसले गर्दा यहाँ कारागार अस्पताल विस्तारका लागि भवन निर्माण लगायतका काम गर्न पाइएन। जसले गर्दा अस्पतालको सेवा विस्तार गर्न समस्या छ। केन्द्रीय कारागार नै नुवाकोट सार्ने भनिएकाले केन्द्रीय कारागार अस्पताल काठमाडौंमा नै खोल्नुपर्छ भनेर पनि छलफल गरिरहेका छौं। बहुविशेषज्ञ सेवा दिने गरी यसलाई विस्तार गर्ने योजना बनाइरहेका छौं।
यहाँ काम गर्दा कस्तो चुनौतीहरुको सामना गर्नुभएको छ?
मैले यहाँ काम गर्दा ठूलो चुनौती खासै भोग्न परेको छैन। सबैसँग मिलेर काम भइरहेको छ। म टिमवर्कमा विश्वास गर्छु। त्यही अनुसार काम भइरहेको छ। विगतमा समनुवयको अभाव थियो। अहिले त्यो पनि समाधान भइसकेको छ।