काठमाडौं- अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एएससीओ)ले नेपाली मूलका डा सिद्धार्थ यादवलाई २ लाख अमेरिकी डलर (२ करोड ६० लाख नेपाली रुपैयाँ) सहितको एएससीओ करियर डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ।
एएससीओ क्यान्सर क्षेत्रमा कार्यरत चिकित्सकहरूको अग्रणी संस्था हो। यो संस्थाले हरेक वर्ष अमेरिकामा क्यान्सर अनुसन्धानका क्षेत्रमा सक्रिय युवा अन्कोलोजिस्टहरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ। सन् २०२३ को अवार्ड डा यादवले पाएका हुन्।
डा यादवले वंशानुगत स्तन क्यान्सरको जीनको खोजीमा गरेको अनुसन्धानको लागि उक्त अवार्ड प्रदान गरिएको एएससीओले जानकारी दिएको छ। डा यादवले अवार्डसँगै पाएको रकम अनुसन्धानमा खर्च गर्नेछन्।
डा यादवलाई सिकागोमा आयोजित वार्षीक सम्मेलनमा एएससीओको कन्क्वेयर क्यान्सर फाउन्डेसनका अध्यक्ष डा हावर्ड ए बरिसले उक्त अवार्ड प्रदान गरेका हुन्।