काठमाडौं - वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीरले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो।
नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित सेन्टर नभएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा राजिव झाले बताए। यो केन्द्रको स्थापनापछि ब्रेन ट्युमर भएका बिरामीले एकै ठाउँमा सहज, छिटो र प्रभावकारी उपचार पाउने उनले बताए।
उनले भने, ‘छिटो र प्रभावकारी सेवाका लागि ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै स्वास्थ्य परीक्षण गरी एकै ठाउँमा औषधि उपचार तथा शल्यक्रिया गर्न ब्रेन ट्युमर उपचार केन्द्रको आवश्यकता महसुस हुँदै आएको थियो।’
ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरई लगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर वीर अस्पतालमै स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता छ। यो केन्द्रको स्थापनापछि बिरामीको यो समस्या समाधान हुँदै जाने डा झाको अपेक्षा छ। केन्द्रको स्थापनापछि नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक एकीकृत रुपमा राख्ने उनले बताए।
‘एउटै केन्द्रमा बिरामीले प्रभावकारी सेवा पाएको खण्डमा भौतारिनुपर्ने बाध्यतामा कमी हुने हाम्रो विश्वास छ’ उनले भने।
केन्द्र स्थापना भएको अवसरमा वीर अस्पतालमा एक साताभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गरिने भएको छ। भोलि (शुक्रबार) देखि अर्को शुक्रबारसम्म ब्रेन ट्युमर भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्ने डा झाले बताए। उनका अनुसार हाल वीर अस्पतालमा ब्रेन ट्यमुर भएका बिरामी दैनिक ५ देखि ८ जनासम्म आउने गरेका छन्।
अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा झाले बताए।
उनले भने, ‘विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको ट्युमर हो वा होइन भनेर पत्ता लागिसकेको हुन्छ। तर वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्।’
ब्रेन ट्युमरका लक्षणहरु
ब्रेन ट्युमरको मुख्य लक्षण नै टाउको दुख्नु हो। अधिकांश बिरामीले टाउको दुखेको भन्दै औषधि पसलबाट प्यारासिटामोल सेवन गर्ने गरेको डा झाले बताए। ब्रेन ट्युमर हुँदा देखिने लक्षणहरु :
– टाउको दुख्नु
– बेहोस हुनु
– बान्ता धेरै हुनु
– छारे रोगको जस्तै लक्षण देखिनु
– आँखा देख्न छाड्नु
– कान सुन्न छाड्ने
– खाना निल्न कठिन हुने आदि।
टाउको दुख्न थालेपछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउन डा झाको सुझाव छ। बेलैमा स्वास्थ्य परीक्षण गर्दा ट्युमर हो होइन भनेर पत्ता लगाउन सकिन्छ। जनचेतनाको कमीका कारण बिरामीहरु ढिला अस्पताल आउने गरेको उनको अनुभव छ।
‘समयमा नै ब्रेन ट्युमर पत्ता लगाएर उपचार गरेको खण्डमा यो रोग पूर्ण रुपमा ठिक हुन सक्छ।’ उनले भने।