काठमाडौं- चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्राडा सुनिल कुमार शर्मा ढकाललाई प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा भित्र्याएको छ।
डा ढकालले उनको टिमका सदस्यहरु वरिष्ठ जिआई सर्जन डा प्रनिल राई, अमेरिकन बोर्ड सर्टिफाइड वरिष्ठ कोलोरेक्टल तथा रोबोटिक सर्जन डा सत्यदिप भट्टाचार्य, कन्सल्ट्यान्ट ल्यापारोस्कोपिक हर्निया सर्जन डा निर्वाण राई र कन्सल्ट्यान्ट जिआई सर्जन डा सुबोध घिमिरे सहित ॐ हस्पिटलमा यहि आइतबार देखि सेवा सुरु गरेका हुन्।
हस्पिटलको बोर्डरुममा आयोजित सम्झौता पत्रमा हस्ताक्षर तथा स्वागत समारोहमा ॐ हस्पिटलका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठले डा सुनिल र उनको टिमलाई स्वागत गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै प्राडा सुनिल कुमार शर्मा ढकालले आफूले बर्षौ काम गरेको यस अस्पतालमा पुनः नयाँ प्रतिभाहरु र विश्वका उत्कृष्ठ सेन्टरहरुबाट ज्ञान, सिप र अनुभव बटुलेर फर्किएका सर्जनहरुका साथमा जोडिन पाउँदा आफु गौरवान्वित भएको र आम नेपालीको पहुँचमा विश्वस्तरिय शल्य चिकित्सा सेवा पुर्याउने आफ्नो अभियान सार्थक हुने विश्वास व्यक्त गरे।
ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले प्राडा सुनिल र उनको टिमलमई ॐ अस्पतालमा स्वागत गर्न पाँउदा साह्रै खुशी लागेको र आगामी दिनहरुमा अस्पतालको उत्कृष्टतामा बृद्धि गर्न यस अस्पतालमा हाल भएका सबै चिकिसकहरु, वरिष्ठ चिकित्सकहरु, नर्सिङ स्टाफहरु तथा अन्य सबै कर्मचारीहरुसँग मिलेर यस टिमले मद्दत गर्ने छ भन्ने विश्वास व्यक्त गरे।
ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा हरिश जोशीले पछिल्लो समयमा ॐ अस्पतालमा थपिएका नयाँ नयाँ प्रविधि र उपचार सुविधाहरुलाई सार्थक रुपमा प्रयोग गर्न र बिरामीको उपचार गर्न आवश्यक हरेक सेवा सुविधालाई समयसापेक्ष प्रयोग गरी सुलभ मूल्यमा स्तरिय शल्य चिकित्सा सेवा प्रदान गर्नेमा आफु विश्वस्वस्त रहेको जिकिर गरे।