काठमाडौं- पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा देशका विभिन्न स्थानमा ट्रमा सेन्टर स्थापनाका लागि बजेट तथा योजना बनाउन भन्दै दबाब आउने क्रम बढीरहेको छ। राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
यसरी दबाब दिनेमा नेपाली कांग्रेसका नेता सशांक कोइराला, महेन्द्र जिसी र विनोद चौधरी, नेकपा एमालेका नेता विष्णु पौडेल, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी प्रमुख रहेका छन्। यसका साथै अन्य नेताहरुले पनि स्वास्थ्य मन्त्रालयमा आफ्नो स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने विषय उठाउँदै आइरहेका छन्।
ट्रमा सेन्टरका विषयमा राजनीतिक दलका नेताहरुको अनुचुति दबाब आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कहाँ कसरी ट्रमा सेन्टर स्थापना गर्दा उचित हुने र चलाउन सकिन्छ भन्ने विषयमा सुझाव दिन कमिटी गठन गरेको छ। उक्त कमिटीले आवश्यक छलफल गरेर सुझाव समेत दिइसकेको छ।
कमिटीले ट्रमा सेन्टर मात्र छुट्टै स्थापना गर्दा सञ्चालनमा ल्याउन कठिनाई हुने भन्दै अन्य अस्पतालसँगको सहकार्य हुनेगरी मात्र चलाउन मुख्य सुझाव दिएको छ। 'नेताहरुले जनतालाई अस्पताल बनाउँछु भनेर भाषण गरेजस्तो सहज ट्रमा सेन्टर चलाउन हुँदैन,' स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, 'ट्रमा सेन्टर भनेको छुट्टै स्थानमा एक्लै चलाउन मिल्ने कुरा होइन। यसका लागि थुप्रै सहयोगी विभाग तथा विधाहरु आवश्यक छ। त्यसकारण मन्त्रालयले विज्ञहरुको कमिटी बनाएको हो। कमिटीले पनि ट्रमा सेन्टर मात्र एक्लै चलाउन असम्भव हुने र बहुविशेषज्ञ सेवा दिने अन्य अस्पतालसँग लिंक हुनुपर्ने कुरामा जोड दिएको छ।'
उनले वीर अस्पताल र ट्रमा सेन्टरको उदाहरण दिँदै थप भने, 'त्यत्रो वीर अस्पताल छेउमै हुँदा त राष्ट्रिय ट्रमा सेन्टरमा सेवा चलाउन कठिनाई भइरहेको छ भने ट्रमा सेन्टर मात्र चलाउँदा के होला? यो त सरासर स्रोतको दुरुपयोग हुने कुरा भयो। दुर्घटनामा परेका मानिसलाई मुटुको उपचार आवश्यक पर्योल भने के गर्ने, कलेजो, मिर्गौला, फोक्सो तथा अन्य अंगको उपचार गर्न कहाँ लैजाने? ट्रमा सेन्टर मात्र भनेर हुँदैन। अन्य विधागत सेवा पनि हुनुपर्छ।'
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल संयोजक रहेको कमिटीमा डा रुद्र मरासिनी, डा अनुप बास्तोला, डा गुणनीधि शर्मा र डा लिलाराज पौडेल सदस्य रहेका छन्। किमिटीको सदस्य सचिव भने मन्त्रालयमै कार्यरत डा समिर अधिकारी हुन्।
कमिटीले मुख्य सात बुँदामा सुझाव दिएको छ। जसमा पहिलो नम्बरमा १०० शय्या भन्दा माथिका अस्पतालहरुमा १५ शय्याको प्राथमिक ट्रमा युनिट स्थापना गरी सञ्चालन गर्ने, दोस्रो नम्बरमा १०० शय्याभन्दा कम शय्या भएका अस्पतालहरुमा भौगोलिक, जनसंख्या, सडकको अवस्था लगायतका विषयलाई मध्यनजर गर्दै विश्लेषण गरी तयार पारिएको प्रतिवेदनको आधारमा ५ देखि १० शय्याको ट्रमा युनिट सोही अस्पतालमा थप गरी सञ्चालन गर्ने, तेस्रो नम्बरमा अस्पतालमा रहेका जनशक्ति, ल्याब, मेसिनरी औजार, एक्सरे लगायत अन्य सेवाहरु एकीकृत रुपमा सञ्चालन गर्ने गरी ट्रमा इकाईलाई सञ्चालनमा ल्याउने विषय रहेको छ।
यस्तै, चौथो नम्बरमा जुन निकाय (संघ, प्रदेश र स्थानीय तह) अन्तर्गत सञ्चालन भएका अस्पतालमा ट्रमा युनिट स्थापना हुने हो सोही निकाय मातहत रहने गरी स्रोत व्यवस्थापन गर्ने गरी सञ्चालन गर्ने। यदि सञ्चालन रहेका वा सञ्चालन हुने अस्पताल पाएक नपर्ने भए सम्बन्धित तहबाट नै निर्णय गरी बढीमा २५ शय्यासम्मको प्राथमिक ट्रमा अस्पताल निर्माण गरी सञ्चालन गर्न सकिने विषय रहेको छ।
सुझावको पाँचौ नम्बरमा ट्रमा युनिकमा काम गर्ने जनशक्ति र एम्बुलेन्स सञ्चालकलाई ट्रमा सम्बन्धी आवश्यक तालिम, सीप र साधन परिचालन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, छैटौं नम्बरमा सुझाव १ र २ बमोजिमको शय्याका लागि अन्तराष्ट्रिय एवं राष्ट्रिय प्रोटोटाइप अनुरुप अस्पतालको संरचना निर्माण गर्ने गरी शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गर्न उपयुक्त हुने र सातौं नम्बरमा ट्रमा अस्पताल निर्माणका लागि डिपिआर बमोजिम लाग्ने लागतको हकमा स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा शहरी विभाग तथा भवन निर्माण विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सहमति माग गर्ने रहेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली कोरिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ। तर आवश्यक गृहकार्यबिना ट्रमा सेन्टर बनाउँदा भविष्यमा स्रोत खेर जानुका साथै सेन्टर सञ्चालनमा आउन समेत कठिनाई हुने देखिएपछि मन्त्रालयले विज्ञहरुको कमिटी बनाएर सुझाव माग गरेको हो।
मन्त्रालयले सुझाव अनुसार काम अगाडि बढाउने तयारी गरिरहेको समयमा नेताहरुले भने अनावश्यक दबाब दिइरहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।