काठमाडौं- रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरले स्थापनाको दश वर्ष पूरा गरेको छ। सेन्टरले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा आगामी पाँच वर्षका ६ बुँदे योजना सार्वजनिक गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुको विवरण सुनाउँदै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना सुनाएका हुन्।
कक्षपतिले सार्वजनिक गरेका ६ बुँदे योजना यस्ता छन्:
१. बाथ रोग सेन्टरको विस्तारको कामलाई निरन्तरता दिँदै थप ७ वटा जिल्लामा सेवा विस्तार गर्ने।
२. जनचेतना अभिवृद्धि गर्नका लागि बाथरोगको जनचेतना घरघरमा पुर्या औं सामाजिक उत्तरदायित्व पुरा गरौं नारा तय गरी बाथ नियन्त्रणको लागि समुदायसम्म पुर्याेउने।
३. नर्सिङ दक्ष जनशक्ति तयार पार्नका लागि नर्सहरुलाई बाथ रोग सम्बन्धी नर्सिङ शिक्षा तालिम शुरु गर्ने।
४. दुर्गम भेगमा बाथरोग सम्बन्धी सेवा विस्तार गर्न सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने, प्रशिक्षण दिने, स्थानीयसँग सहकार्य गर्नका साथै रोग निदानका लागि निरीक्षण गर्ने।
५. नयाँ प्रविधिलाई आत्मसात गर्दै थर्मोग्राफी सेवाको शुरुवात।
६. भौतिक संरचना विस्तारका क्रममा हस्पिटल मोडालिटीमा अगाडि बढेको र भवन निर्माण भइरहेको। डेढ वर्षभित्र नयाँ भवनबाट सेवा सुरु हुने। यो नेपालकै पहिलो बाथ रोग अस्पताल हुने।
कार्यक्रममा मन्त्री बस्नेतले बाथ रोगका विषयमा जनचेतना जगाउने काममा सेन्टरले काम अगाडि बढाउनु पर्नेमा जोड दिए। उनले रोग लाग्नै नदिने उपायका विषयमा सचेत रहन सबैलाई आग्रह गरे।
'खानपान र व्यायाम गर्ने हो भने धेरै रोगबाट जोगिन सकिन्छ। आहार, बिहार र शारीरिक व्यायममा जोड दिने सके धेरै फाइदा हुन्छ,' उनले भने, 'त्यसकारण दैनिक कम्तीमा एक घण्टा समय आफैंलाई दिनुपर्छ। रोग लाग्नै नदिने उपायमा जोड दिनुपर्छ। रोग लागिसकेको अवस्थामा सेन्टर लगायतका अस्पतालले सेवा दिने हो। त्यसकारण सेन्टरले पनि जनचेतना फैलाउने काम गर्नुपर्छ।'
कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित बैद्यले नेपालमा ३० लाख हाराहारीमा बाथ रोगका बिरामी रहेको जानकारी दिँदै केन्द्रले गत वर्ष करिब तीन प्रतिशत बाथ रोगका बिरामीलाई सेवा दिएको बताए।
'कुल जनसंख्याको करिब १० प्रतिशतमा बाथ रोग रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ। त्यो आधारमा हेर्दा नेपालमा ३० लाख नेपालीमा बाथ रोग हुनसक्ने अनुमान गर्न सकिन्छ,' उनले भने, 'तर उपचारको दायरामा अझै धेरै नागरिक आउन सकेका छैनन्। त्यसकारण सरकारले पनि यसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।'
उनले बाथ रोग केन्द्रले १० वर्षको अवधिमा रातोपुलसहित अन्य ८ स्थानमा सेवा विस्तार गर्दै उपचार लगायतका सेवा दिइरहेको जानकारी दिए। रातोपुल, झापाको बिर्तामोडमा, चितवन, बुटवल, दाङको तुलसीपुर, पोखरा, ललितपुर र भक्तपुरबाट सेवा दिइरहेको उनले बताए।
बाथ रोग केन्द्र सन् २०१२ मा स्वास्थ्य क्षेत्रमा नविनतम काम गर्ने उद्देश्यसाथ स्थापना भएको हो।