काठमाडौं - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आइतवार पोखरामा सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको हो।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण भएको थियो। डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी हुनुभएको थियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट युरोलोजी तथा मिर्गौला प्रत्यारोपण टोलीमा शल्य चिकित्सक डा प्रकाश क्षेत्री, डा अनुप चापागाँई, डा सन्तोष श्रेष्ठ, डा डेभिड श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल लगायत प्रत्यारोपणमा संलग्न थिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) का नेफ्रोलोजिष्ट डा जुजु राज श्रेष्ठका अनुसार तनहुँ दमैलीका २५ वर्षीया पुनम थापा मगरको आइतवार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई उनका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका हुन्।
त्यस्तै पर्वत मोदी (४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतवरै मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए। प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
प्रत्यारोपण भएका दुबै जनाको निजी र्खचमा उक्त प्रत्यारोपण भएको अस्पतालले जनाएको छ। राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामा पहिलो पटक २०७९ असार ९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि ८ वटा सफल प्रत्यारोपण भइसकेको छ।