काठमाडौं - डिजिटल माध्यमहरुको बढ्दो प्रयोगले विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा मायोपिया सम्बन्धी कार्याशाला गोष्ठीमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन।
आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ। पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ। त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने विज्ञहरु बताउँछन्।
मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ। सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ।
विश्वमा अहिले मायोपिया सचेतना सप्ताह मे २२ देखि २६ मे सम्म चलिरहेको छ। सूचना प्रविधिको विकास संगै आम मानिसले आफनो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौं सम्म मोबाईल, ल्यापटप, टि।भि जस्ता डिजिटल माध्यामहरुमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ। जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुँदै गईरहेको छ।