काठमाडौं- प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्र तर्फकालाई प्रदान गरिने भएको छ।
एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने मदन भण्डारी फाउण्डेसनले निर्णय गरेको छ।
फाउन्डेसनले प्रदान गर्ने पुरस्कारका लागि सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै आवेदन दिन आग्रह गरेको छ।
नेपालीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार प्रदान गरिनेछ। सो पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको छ।
पुरस्कारका लागि आवेदन दिन चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधीको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजो, मिर्गौला), जन्मजात अपांगताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुर्याएको व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ।