काठमाडौं- नेपाल चिकित्सक संघले सिन्धुली अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
संघका महासचिव डा सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले चिकित्सक, तथा स्वास्थ्यकर्मीलाई मानसिक तनाव सिर्जना गरिएको भन्दै भर्त्सना गरिएको छ।
'बिरामीको अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरूले सघन कक्षमा राख्नुपर्ने बिरामी भएको हुनाले बिरामीका आफन्तहरूसँगको समन्वयमा अन्यत्र प्रेषण गरिएको व्यहोरा जानकारी गराइन्छ।' बुधबार जारी विज्ञप्तिमा भनिएको छ, 'उपचारलाई निरन्तरता दिदै बिरामी पक्षको चाहना बमोजिम प्रेषण गरिएको घटनालाई अतिरञ्जित गर्दै सिन्धुली अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुयाई बिरामीहरूको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिएकोप्रति यस संघ घोर भर्त्सना र निन्दा गर्दछ।'
साथै संघले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको यस्तो कार्यले चिकित्सकहरूको मनोबललाई नै निरूत्साहित गर्ने भन्दै स्वास्थ्य संस्थाको तोडफोडमा उत्रने दोषी उपर आवश्यक छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न माग गरेको छ।
कमलामाई नगरपालिका-५ की गंगा गुरूङको मंगलबार मृत्यु भएको थियो। गुरुङलाई अस्पतालमा १० बजेतिर ल्याइएको थियो। उनको अवस्था सुधार नभएपछि थप उपचारका लागि बर्दिबास लगिएको थियो। बर्दिबास लैजाने क्रममा गुरुङको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
आफन्तले गुरुङलाई बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्।