काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको कार्यालय सकिन लागेको छ। डा गिरीको कार्यकाल यही भदौं २६ गतेबाट सकिँदैछ। आयोगमा कार्यकारी अधिकार भएका उपाध्यक्षको कार्यकाल सकिएपछि नियुक्ति प्रक्रियामा ढिला हुन सक्ने भन्दै आयोगको कार्यकारी परिषद बैठकले नयाँ उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
आयोगका उपाध्यक्ष डा गिरीका अनुसार उपाध्यक्ष रिक्त हुँदा आयोगको कामकारबाही प्रभावित हुनसक्ने भएकाले अहिले नै प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने विषयमा छलफल भएको हो।
'यो विषयमा छलफल भएको छ। प्रक्रिया अहिले अगाडि बढाउँदा समयमा नै नयाँ उपाध्यक्ष आएर काम अगाडि बढाउन सक्नुहुन्छ भन्ने कुरा भएको हो,' उनले भने, 'रिक्त भएपछि प्रक्रिया सुरु गर्दा यहाँको धेरै काम प्रभावित हुन सक्ने भएकाले अहिले नै प्रक्रिया अगाडि बढाउँदा राम्रो हुन्छ कि भन्ने हाम्रो कुरा हो।'
उनले यस विषयमा सरकारलाई अनुरोध भने गरिनसकेको जानकारी दिए। 'छलफल भएको छ। तर सरकारलाई अनुरोध नै गरिसकेको अवस्था होइन। गर्नुपर्छ भन्ने कुरा चाँही हो।'
आयोगका उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ। डा गिरी आयोगका पहिलो उपाध्यक्ष हुन्। अब आउने उपाध्यक्ष आयोगमा दोस्रो उपाध्यक्षका रुपमा आउने छन्। आयोगको उपाध्यक्ष नियुक्तिका लागि सरकारले समिति गठन गर्ने, आवेदन माग गर्ने लगायतका प्रक्रियाहरु रहेका छन्।