काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रस्तावितभन्दा धेरै विषय फरक परेको र अन्यौल गराउने विषयहरु परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र ठाएको छ।
स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका अन्यौल गराउने विषयहरुमा प्रष्ट पार्न भन्दै पत्र पठाएको हो। मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका केही शब्दहरु संघीय संचना अनुसार फरक परेकोभन्दै ती विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै पत्र पठाएको छ।
मन्त्रालयले नीति तथा कार्यक्रममा परेको क्षेत्रीय अस्पताल, आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र, आधारभूत अस्पतालको जनशक्ति, सामुदायिक अस्पताल र सामुदायिक स्वास्थ्य संस्थाका विषयमा स्पष्ट पार्न मन्त्रायले पत्र पठाइसकेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
'नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयको संरचना र कामकारबाहीका विषयमा जानकारी नै नभएका व्यक्तिले दिएका कुराहरु परेकोजस्तो देखिन्छ,' मन्त्रालयका ती कर्मचारीले भने, 'हामीले पठाएका विषयहरु संशोधनका नाममा हुँदै नभएका कुरा र काम गर्नै नसक्ने विषय परेका छन्।'
ती कर्मचारीका अनुसार नीति तथा कार्यक्रममा प्रदेश र क्षेत्रीय अस्पतालहरूको स्तरोन्नति गरी शिक्षण अस्पतालका रूपमा विकास गरिने विषय उल्लेख छ। नेपालमा अहिले क्षेत्रीय अस्पताल नै छैनन्। संघीय संरचना अनुसार विगतका क्षेत्रीय अस्पतालहरु अहिले संघीय र प्रादेशिक अस्पतालमा रुपान्तरण भएका छन्। तर नीति तथा कार्यक्रममा क्षेत्रीय अस्पताल उल्लेख भएपछि मन्त्रालयले उक्त अस्पताल भनेर संघीय वा प्रादेशिक कुन अस्पताल हो प्रष्ट हुनुपर्ने भन्दै पत्रमा उल्लेख गरेको छ।
यस्तै, नीति तथा कार्यक्रममा 'प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गरिने' विषय पनि परेको छ।मन्त्रालयका कर्मचारीहरु यो विषयमा पनि अन्यौलमा परेका छन्। वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। यी केन्द्र भनेको विगतका स्वास्थ्य चौकी नै हुन्। तर नीति तथा कार्यक्रममा भने प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र भनिएको छ। मन्त्रालयले वडाहरुमा अहिले भइरहेको र बन्दै गरेका आधारभूत स्वास्थ्य केन्द्र र नीति तथा कार्यक्रममा उल्लेखित 'प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना' के भिन्नता छ? उक्त विषयमा पनि प्रष्ट पार्नुपर्ने विषय प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।
आधारभूत अस्पतालको दरबन्दीका विषयमा पनि मन्त्रालय अन्यौलमा परेको छ। मन्त्रालयले तयार पारेको संगठन संरचनामा ५, १० र १५ शय्याको अस्पतालमा विशेषज्ञ चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र कर्मचारीको फरक फरक दरबन्दीको प्रस्ताव गरिएको छ। तर नीति तथा कार्यक्रममा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, ल्याबलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको, इसिजी लगायतका डाइग्नोष्टिक उपकरण, अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने विषय उल्लेख छ। मन्त्रालयले यस विषयमा नीतिगत रुपमा अस्पष्ट हुन पुगेको भन्दै नयाँ नीति अनुरूप के गर्नुपर्ने? भन्दै उक्त विषयको जानकारी माग गरेको छ।
यसका साथै मन्त्रालयले नीति तथा कार्यक्रममा उल्लेख भएको सामुदायिक अस्पताल भनेर कसलाई भन्न खोजिएको हो स्पष्ट हुनुपर्ने विषय पनि पत्रमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदम सार्वजनिक गरेको नीति तथा कार्यक्रममा 'सामुदियक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिनुका साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइनेछ' भन्ने विषय उल्लेख छ। मन्त्रालयले उक्त विषयमा परेको सामुदायिक अस्पतालका विषयमा अन्यौल भएको भन्दै 'नीति कार्यक्रममा उल्लेखित सामुदायिक अस्पताल भन्नाले कसलाई जनाउन खोजिएको हो स्पष्ट हुनुपर्ने' भन्दै पठाएको छ।
मन्त्रालयले 'एक चिकित्सक/स्वास्थ्यकर्मी– एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७' स्वीकृत भएको र सो कार्यविधिको दफा २ (घ) मा 'स्वास्थ्य संस्था संस्था भन्नाले कार्यक्रम लागु भएका सरकारी स्वास्थ्य संस्था वा अस्पताल सम्झनुपर्छ' भनी उल्लेख भएको विषय समावेश गर्दै सामुदायिक अस्पतालका विषयमा प्रष्ट पार्न पत्रमा उल्लेख गरेको छ।
यसैगर, जनशक्ति, उपकरण, औषधि सेवाप्रवाहको गुणस्तर, समयावधि, व्यवस्थापन, सरसफाइ समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिनेछ भन्ने विषयमा परेको सामुदायिक स्वास्थ्य संस्था भन्नाले के बुझिन्छ? त्यसमा पनि प्रष्ट पार्न भनेको छ।
यो पनि :
बिहान ८ देखि राती ८ बजेसम्म ओपिडी सञ्चालन सम्भव छ?