काठमाडौं- पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा प्रश्नैप्रश्न उठाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम स्वीकार गर्न नसक्ने बताएका हुन्।
संसदमा बोल्ने क्रममा उनले स्वास्थ्यका विषयमा पनि आफ्ना धारणा राखेका छन्। उनले सरकारको स्वास्थ्य नीति जनताप्रति उत्तरदायी नभएको भन्दै त्यसको आलोचना गरेका छन्।
उनले सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका धेरै विषय नअटेको भन्दै सरकारले जनस्वास्थ्यप्रति गम्भीर आघात गरेको आरोप पनि लगाए।
यस्तो छ संसदमा ओलीले स्वास्थ्यका विषयमा व्यक्त गरेको धारणा
सरकारको प्राथमिकतामा निरोगी नेपाल अट्न सकेन। निरोगी नेपालको एउटा खास अर्थ थियो। बिमारी हुनै नदिने। पहिलेदेखिनै बच्चा देखि गर्भैमा हुँदा देखि कसरी शिशुलाई निरोगी बनाउने उसको शारीरिक र मानसिक विकास हुर्किँदै जाने क्रममा कसरी गर्ने? त्यसपछि नागरिकलाई स्वस्थ कसरी राख्ने? उसका जीवनका सम्पूर्ण पक्षहरु स्वस्थताका साथ चलुन र बिमारी भइहालेमा उपचार पाओस्। त्यस नीतिले समेटिएका यी महत्वपूर्ण कुरा हुन्।
आयुर्वेदको त अलिकति चर्चा छ। तर आयुर्वेद बाहेक अरु चर्चाहरु छैन। अरु चिकित्सा पद्दतिहरुको चर्चा छैन। एलोपेथिक होमियोपेथिक आयुर्वेदिक प्राकृतिक योग अनेक प्रकारका छन्। त्यसमा योगको एउटा शब्द परेको होला। तर यी विभिन्न चिकित्सा पद्दतिहरु हाम्रा स्वास्थत्य पद्दतिहरु तिनिहरु विकास गरिनेछ भन्ने कुराहरु यसमा परेको छैन।
सरकारको स्वास्थ्य नीति हेर्दा यो साँच्चै स्वास्थ्य नीति र जनताप्रति उत्तरदायी नीति जस्तो लाग्दैन। भूगोल र जनसंख्याका आधारमा स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने, सरुवा रोग रोकथाम र नियन्त्रण र उपचार एवं स्वास्थ्य वपद व्यवस्थापनको तयारी र प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको तीन सय शय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने, सेन्टर फर डिजिज कन्ट्रोल, फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण जस्ता स्वास्थ्य सेवालाई आधुनिकस्तरको बनाउने र अनुसन्धान एवं नियमनलाई प्रभावकारी बनाउने क्षेत्रमा ल्याइएका कार्यक्रमका सम्बन्धमा प्रस्तुत नीति तथा कार्यक्रम पूर्णतया उदासिन र गैरजिम्मेवार देखिएको छ। यो त चर्चै गर्न चाहँदैन। त्यतापट्टी प्रवेशै गर्न चाहँदैन। जनस्वास्थ्य र राष्ट्रको प्रतिष्ठामा यो गम्भीर आघात हो।