काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद डाक्टर चन्दा कार्कीले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु भएको भन्दै यस क्यान्सर लाग्नबाट जोगाउन सकिने खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न माग गरेकी छिन्।
संसदमा आइतबार आफ्नो कुरा राख्दै सांसद डा कार्कीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोपलाई राष्ट्रिय खोप अभियान अन्तर्गत राख्दै नियमित सञ्चालन गर्नुपर्ने बताएकी हुन्।
उनले गत वर्षको नीति तथा कार्यक्रममा उक्त विषय राखिएको भएपनि कार्यान्वयन नभएको भन्दै यसै वर्षदेखि त्यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै सन् २०३० को लक्ष्य प्राप्ति तर्फ अगाडि बढ्नुपर्ने कुराम जोड दिएको छिन्।
संसदमा डा कार्कीले व्यक्त गरेको धारणा उनकै शब्दमा:
स्वास्थ्य हाम्रो संविधान प्रदत्त मौलिक अधिकार हो। तर पनि किन हामीले यो अधिकार बारम्बार माग गर्नु परिरहेको छ? मैले बुझेको छैन। महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर समयमा नै पहिचान र उपचार गर्नु अति आवश्यक हुन्छ। राज्यले यसका लागि अझै पनि मास स्क्रिनिङ कार्यक्रम नराखेको र खोपको व्यवस्था पनि नगरेकाले हामीकहाँ हरेक वर्ष दुई हजार तीन सय नयाँ महिलाहरु यो रोगबाट ग्रसित भइरहेका छन्। १५०० महिलाहरुले यो रोगबाट वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ। हामीले मिहलाहरुको यो पिडा सुन्नेकी नसुन्ने? यसविरुद्धको भ्याक्सिले यो क्यान्सरको मृत्युदर कम्तिमा ३५ प्रतिशत जित कम गर्न सक्छ। राज्यले यस विषयमा गत वर्ष आफ्नो नीति तथा कार्यक्रममा बोले पनि यसको कार्यान्वयन नगरेको देखिन्छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र राष्ट्रिय खोप कार्यक्रममा एचपीभी भ्याक्सिनलाई चाँडोभन्दा चाँडो राख्नुपर्छ। यसो भएमा सन् २०३० सम्ममा यस क्यान्सरबाट मुक्ति पाउने विपयमा लिएको लक्ष्य पाउन सकिने कुरामा हामी पनि पुग्न सक्नेछौं।