काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत स्वीजरल्याण्डको जेनेभा जाँदैछन्। विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा सहभागी हुन मन्त्री बस्नेत आज स्वीजरल्याण्डको जेनेभा जान लागेका हुन्।
मन्त्री सहित ६ जनाको टोली आज राति २ बजे जेनेभा प्रस्थान गर्न लागेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। जेनेभामा मे २१ देखि ३० सम्म डब्लुएचओको महासभा हुँदैछ। मन्त्री बस्नेत सुरुको दुई दिन मात्र सहभागी भएर फर्कनेछन्। बाँकी टोली मे ३० सम्म जेनेभामा हुने मन्त्री बस्नेतले जानकारी दिए।
‘यो ६ जनाको टोली इतिहासकै सानो टोली हो। यो भन्दा अगाडी धेरै ठूलो संख्यामा जानु हुन्थ्यो। जुन हामीले महसुस गरेनौ।’ उनले भने।
यो पटक आफुले आवश्यक टोलीलाई मात्र जेनेभा लैजान लागेको उनले बताए। आफ्नो कार्यकालमा विदेश भ्रमणलाई व्यवस्थित बनाउने र सकेसम्म कम गराउने उनले बताए।
विदेश भ्रमण मन्त्रालयको एउटा रोग भएको बताउँदै उनले भने, ‘दुर्गममा बसेकाहरु कहिल्यै मोका नपाउने, विषय विज्ञको नाउँमा भएपनि एउटै व्यक्ति खुरुखुरु विदेश गइरहने त्यो कुराको अन्त्य गराउन सकेसम्म विदेश भ्रमण अन्त्य गराउँछु।’
मन्त्रालयका कर्मचारीहरुले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको विभिन्न प्रोजेक्टको नाममा विदेश भ्रमणमा जाने र उनीहरुले मन्त्रालयलाई गलत तरिकाले प्रभावमा पार्न खोजेको देखिएको मन्त्री बस्नेतले बताए। विदेश भ्रमणलाई कम गरेपनि मन्त्रालयका कर्मचारीहरु उनीहरुसँग बढी प्रभावित हुन नपाउने उनले बताए। विदेश भ्रमणको धेरै फाइलहरु आफुले रोकेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
‘एक वर्ष यता कुन कुन भ्रमणमा को को जानु भयो ? त्यसलाई फण्डिङ्ग कसले गर्याे ? त्यसबाट उपलब्धी के भयो ? भनेर हामीले जानकारी लिन्छौ।’ उनले भने।
औचित्य पुष्टि नभएसम्म विदेश भ्रमण स्वीकृत नगर्ने मन्त्री बस्नेतले बताए।