काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाएका छन्। न्याम्समा आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी पाएका डा भुपेन्द्र बस्नेतले रोकिएको निर्वाह भत्ता पठाएका हुन्।
डा बस्नेत बुधबार निमित्त उपकुलपति नियुक्त भएका थिए। न्याम्समा पदाधिकारी रिक्त हुँदा आवासीय चिकित्सकले तीन महिनादेखि निर्वाह भत्ता पाएका थिएनन्। जसका कारण उनीहरुले आन्दोलन सुरु गरेका थिए। डा बस्नेतले बिहीबार निर्वाह भत्ता बैंकमा पठाएसँगै आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम समेत फिर्ता लिएका छन्।
'उहाँहरुले तीन महिनादेखि निर्वाह भत्ता पाउनु भएको रहेनछ। हामीले आवश्यक प्रक्रिया पुरा गर्दै बैंकमा पठाइसकेका छौं,' निमित्त उपकुलपति डा बस्नेतले भने, 'उहाँहरुसँग भएको छलफल पछि विरोधका कार्यक्रम पनि फिर्ता लिनु भएको छ।'
डा बस्नेत र आन्दोलनरत आवासीय चिकित्सकबीच दुई बुँदे सहमति भएको छ। आन्दोलनरत चिकित्सकसँग बिहीबार भएको छलफलपछि दुई बुँदे सहमति भएको हो। सहमतिपछि आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ।
हेरौं विज्ञप्ति