काठमाडौं- सरकारले कोभिड महामारीको अन्तयसँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल समेत हटाएको छ। महामारीको समयमा सरकारले कोभिडका बिरामीको उपचारका लागि लक्षित गर्दै वीर अस्पतालको नयाँ भवनलाई कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाइएको थियो।
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले यसअघिको अध्यादेश निस्क्रिय भइसकेको र कोभिड महामारी समेत अन्तय भइसकेकोले कोभिड अस्पताललाई हटाउने निर्णय गरेका हुन्।
२०७८ साल वैशाख २५ गतेको मन्त्रिपरिषदले वीरको नयाँ भवनलाई छुट्टै कोभिड युनिफाइड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८’ अनुसार कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको थियो। उक्त अध्यादेश अहिले निस्क्रिय भइसकेको छ।
मन्त्रालयको यो निर्णयसँगै अब कोभिड अस्पतालका नाममा रहेका सबै अधिकार न्याम्स पदाधिकारीमा रहने भएको छ। मन्त्री बस्नेतले बुधबार नै मन्त्रीस्तरीय निर्णय गर्दै न्याम्सको निमित्त उपकुलपतिको जिम्मा प्राडा भुपेन्द्र बस्नेतलाई दिएका छन्। डा बस्नेतलाई न्याम्सको आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।