नयाँ दिल्ली- विश्वव्यापी रूपमा र दक्षिण-पूर्वी एशिया क्षेत्रमा उच्च रक्तचाप मृत्यु दरको सबैभन्दा महत्त्वपूर्ण प्रमुख कारण मध्य एक हो। यस क्षेत्रका करिब आधा उच्च रक्तचाप भएका व्यक्तिहरू आफ्नो अवस्थाबारे अनभिज्ञ भएकाले उच्च रक्तचापलाई रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न सेवाहरू बढाउनुपर्ने आवश्यकता छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा पूनम क्षेत्रपाल सिंहका अनुसार उच्च रक्तचापलाई 'साइलेन्ट किलर' पनि भनिन्छ। किनभने धेरै मानिसहरूलाई उनीहरूको समस्याको बारेमा थाहा हुँदैन जसको उपचार नगर्दा अपाङ्गता हुने, जीवनको गुणस्तर कमजोर हुने वा घातक हृदयघात वा स्ट्रोकसम्म पनि हुन सक्छ। उच्च रक्तचाप छ या छैन भनेर जान्नको एक मात्र तरिका रक्तचाप नियमित रूपमा जाँच गराउनु हो।
डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा एक चौथाइ युवा जनसंख्यामा उच्च रक्तचाप भए पनि तीनमध्ये एक जना मात्र उपचारमा छन् भने दशमध्ये एक जनामा मात्रै यो अवस्था नियन्त्रणमा छ।
अस्वास्थ्यकर खानाहरू जस्तै अत्यधिक नुन, स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको धेरै भएका खानेकुरा, फलफूल र तरकारीहरू थोरै खाने बानि,शारीरिक निष्क्रियता, चुरोट र रक्सीको सेवन र अधिक तौल वा मोटोपन उच्च रक्तचापको जोखिम कारकहरू हुन्। यी कारकहरूलाइ परिमार्जन समेत गर्न सकिन्छ।
स्वस्थ आहार खाने, सुर्तीजन्य पदार्थ छोड्ने र बढी सक्रिय हुने जस्ता जीवनशैली परिवर्तनले रक्तचापको जोखिम कम गर्न मद्दत गर्छ।
`उच्च रक्तचापले कम र मध्यम आय भएका देशहरूमा स्वास्थ्यमा मात्र नभई सामाजिक र आर्थिक विकासका सबै क्षेत्रमा असर गर्छ,´ डा क्षेत्रपाल सिंहले भनिन्।
यस क्षेत्रका सबै देशहरूले प्रति दिन प्रति व्यक्ति ५ ग्राम भन्दा कम नुन सेवन डब्लूएचओले सिफारिस गरेको छ। तीन देशहरूले उपभोक्ता सचेतनाको लागि फ्रन्ट-अफ-द-प्याक लेबलिङ लागू गर्दैछन्। खाद्यान्नमा ट्रान्स फ्याटलाई सीमित गर्ने कानुनद्वारा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटको नकारात्मक प्रभावबाट करिब १.६ बिलियन मानिसहरू सुरक्षित छन्।
यस क्षेत्रले दक्षिण-पूर्वी एशिया हर्ट्स पहल मार्फत विभिन्न कार्यहरूलाई प्राथमिकता दिइरहेको छ जसले सुर्तीजन्य पदार्थ नियन्त्रण, नुनको कम प्रयोग, र उच्च रक्तचाप र मधुमेह कभरेज र नियन्त्रण गर्न काम गर्छ।
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
यो वर्षको विश्व उच्च रक्तचाप दिवस `आफ्नो रक्तचाप सही ढंगले नाप्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस् र लामो समयसम्म बाँच्नुहोस्´ भन्ने नाराका साथ रोकथाम, पत्ता लगाउन र उपचारमा जोड दिँदै मनाइदैँ छ।
सधैं झैँ यसपटक पनि उच्च रक्तचापको महत्त्व र यसका गम्भीर चिकित्सा जटिलताहरूबारे सचेतना जगाउने उद्देश्य राखिएको छ।