काठमाडौं- यो वर्षको मिस नेपालको अन्तिम प्रतिस्पर्धा आगामी जेठ १३ गते हुँदैछ। २७औं शृङ्खलाको मिस नेपाल २०२३को अन्तिम प्रतियोगिताका लागि २४ जना सुन्दरी प्रतिस्पर्धामा छन्। विगत वर्षमा जस्तै यस वर्ष पनि प्रतिस्पर्धामा डाक्टर र नर्सहरु पनि भिडरहेका छन्।
गत वर्षको प्रतियोगितामा डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थको उपाधी जित्न सफल भएकी थिइन्। यसपटक प्रतिस्पर्धामा रहेका डाक्टर र नर्सले कुन उपाधी जित्न सफल होलान्? त्यसका लागि भने १३ गतेसम्म कुर्नै पर्छ।
२४ जना प्रतियोगीमध्ये एक जना नर्स र दुई जना डाक्टर रहेका छन्। प्रतियोगीमध्ये हेटौंडाकी कीर्ति बर्तौला डेन्टल डाक्टर हुन्। प्रतियोगी नम्बर ६ रहेकी बर्तौलाले बिडिएस अध्ययन गरेकी हुन्।
यस्तै प्रतियोगी नम्बर १० रहेकी सदीक्षा थापा नर्स हुन्। ललितपुरकी थापाले ब्याचलरमा साइकियाट्रिक नर्सिङ गरेकी छिन्।
यसैगरी, प्रतियोगी नम्बर १८ रहेकी ग्रिष्मा अधिकारी पनि डाक्टर हुन्। उनले पनि बिडिएस अध्ययन गरेकी छिन्। अधिकारी धादिङकी हुन्।
प्रतियोगितामा रहेका उनीहरु अन्य प्रतियोगीसँगै विभिन्न प्रशिक्षणमा छन्।