काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट बढाउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले सोमबार अर्थमन्त्री प्रकाशशरण महत र अर्थ मन्त्रालयका टोलीसँग बजेट बढाउने प्रस्ताव गरेका हुन्।
स्वास्थ्य मन्त्री बस्नेतको टोलीले स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु नै बजेटमा नपरेको भन्दै थप २३ अर्ब बजेट उपलब्ध गराउने प्रस्तावसहितको योजना पेश गरेको हो। मन्त्री बस्नेतले स्वास्थ्यमा योजना आयोगले दिएको बजेट सिलिङ निकै कम भएको भन्दै बजेट बढाउने प्रस्तावसहितको योजना र कार्यक्रम अर्थ मन्त्रालयलाई बुझाएका हुन्।
अर्थ मन्त्रालयका अनुसार मन्त्री बस्नेतले स्वास्थ्य बिमा, आधारभूत अस्पताल निर्माण र संचालन, छातवृत्तिका १३ सय चिकित्सकलाई परिचालन गर्न, अस्पतालहरुको सेवा विस्तार, मातृ स्वास्थ्य, परिवार नियोजन, एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रममा लगायतका कार्यक्रममा बजेट अपूग भएको भन्दै थप बजेट माग गरेका हुन्।
स्वास्थ्य मन्त्रालयले योजना आयोगबाट झण्डै ४० अर्बको बजेट सिलिङ पाएको छ। मन्त्रालयले सोही सिलिङमा रहेर कार्यक्रमहरु तयार पारेको थियो। तर त्यसक्रममा नियमित कार्यक्रमसहित बीमा, पूर्वाधार निर्माण, मातृ स्वास्थ्यदेखि परिवार नियोजनका कार्यक्रम सञ्चालनमा समेत असर पर्ने देखिएपछि थप रकम माग गरेको स्वास्थ्यका कर्मचारीहरु बताउँछन्।
'अहिलेको सिलिङभित्र मात्र बजेट आयो भने स्वास्थ्यमा केही पनि प्रगति हुने देखिँदैन,' मन्त्रालयका एक कर्मचारीले भने, 'त्यसकारण थप बजेटको माग गरिएको छ। ४० अर्बको सिलिङमा थप २३ अर्ब आउने हो भने स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु प्रभावित हुँदैनन्।' स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा ६९ अर्ब बजेट पाएको छ। मन्त्रालयले अहिले थप्न गरेको प्रस्ताव अनुसार नै बजेट आए पनि आगामी आर्थिक वर्षमा स्वास्थ्यले चालु वर्षकोभन्दा कम बजेट नै पाउने देखिन्छ।