काठमाडौं- आगामी आर्थिक वर्षको बजेटको तयारी धमाधम अगाडि बढिरहेको छ। मन्त्रालयगत रुपमा बजेटमा समावेश गर्नुपर्ने विषयमा अर्थ मन्त्रालयमा धमाधम छलफल चलिरहेको छ। बजेट निर्माणको काम अन्तिम समयमा पुगेको अवस्थामा मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छ। जसका कारण स्वास्थ्य मन्त्री मोहन बस्नेतले बजेटमा परेका विषयमा घनिभूत छलफल गर्न पाएनन्।
मन्त्री बस्नेत मन्त्रालयमा आउँदा योजना आयोगले स्वास्थ्यलाई चालु आर्थिक वर्षकोभन्दा ४० प्रतिशत कम बजेट सिलिङ पाइसकेको थियो। र मन्त्रालयका कर्मचारीहरुले सोही अनुसार बजेटको तयारी अगाडि बढाइसकेका थिए। मन्त्री बस्नेतले आफ्नो तर्फबाट स्वास्थ्यमा बजेट थप्ने प्रयास गरिरहेका छन्।
स्वास्थ्यमा महत्वपूर्ण र नियमित काम समेत प्रभावित हुने गरी बजेट घटेपछि मन्त्री बस्नेत ती विषयमा बजेट थप्न अर्थ मन्त्रालयमा छलफलका लागि पुगेका छन्। सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री प्रकाशशरण महतसँगको छलफलमा मन्त्री बस्नेतले स्वास्थ्यका महत्वपूर्ण विषयमा बजेट छुटेकाले थप्नुपर्ने कुरामा जोड दिए। सो क्रममा उनले स्वास्थ्य बीमा, आधारभूत अस्पताल, पुर्वाधार जनशक्ति लगायतका विषयमा जोड दिएका थिए।
छलफलका क्रममा अर्थमन्त्री महतले कुनै समय आफू पनि स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) भएर काम गरेको जानकारी दिए। मन्त्री महतले उक्त जानकारी दिएपछि स्वास्थ्यमन्त्री बस्नेतले पनि आफू पनि खोप सुपरभाइजर भएर काम गरेको जानकारी दिएका थिए।
'बजेटको छलफलका क्रममा अर्थमन्त्री महतले एचए भएर काम गरेको सुनाउनु भयो भने मन्त्री बस्नेतले पनि सिनियर खोप सुपरभाइजर भएर काम गरेको सुनाउनु भयो,' छलफलमा सहभागी अर्थ मन्त्रालयका एक कर्मचारीले भने, 'उहाँहरुले आफूहरु दुवै जना स्वास्थ्यकर्मी रहेछौं भनेपछि स्वास्थ्यका विषयमा बुझेका कारण आवश्यक बजेट थप्न सकिने कुरा भयो। केही महत्वपूर्ण कुराहरु छुटेकाले थप्ने कुरा भएको हो।'
ती कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले आफू २१ वर्षअघि राज्यमन्त्री हुँदा स्वास्थ्यमा रहेको जनशक्तिको दरबन्दी अहिले पनि उस्तै रहेको विषय पनि राखेका छन्। यसका साथै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको कर बढाएर स्वास्थ्यमा बजेट थप्नुपर्ने विषयमा जोड दिएका छन्।
'मन्त्री बस्नेतलाई स्वास्थ्यका विषयमा धेरै जानकारी रहेछ। विगतमा पनि स्वास्थ्य मन्त्रालयमा बस्नु भएको रहेछ। उहाँले कसरी बजेट थप्ने भन्ने सुझाव पनि दिनुभएको थियो,' ती कर्मचारीले भने।