काठमाडौं- भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने विधेयकविरुद्ध संसद् भवन अगाडि धर्ना दिन गएका नेविसंघका दुई जना नेता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।
धर्नाका क्रममा प्रहरीले लाठीचार्ज गर्दा नेविसंका नेता धर्म शाही र हिक्मत शाही गम्भीर घाइते भएका हुन्।
सोमबार कांग्रेस नेता रञ्जित कर्णको नेतृत्वमा भ्रष्टाचारको ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीले संसद् भवन अगाडि जाने बेलामा रोक्न खोज्दा नेविसंघ नेता र प्रहरीबीच विवाद उत्पन्न भएको थियो। प्रहरीले लाठ्ठी चार्ज गर्दा नेविसंघ संस्थापन इतर पक्षका नेताद्वय धर्म शाहि र हिक्मत शाही गम्भीर घाइते भएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए।
नेता भट्टले भने, ‘भ्रष्टाचारको ५ वर्षे हदम्यादसम्बन्धी विधेयक आज संसद्मा टेबुल हुँदैछ, यो गलत हो। भ्रष्टाचारको कुनै म्याद हुँदैन, एकचोटीको भ्रष्टाचारी सधैंको अपराधी हुन्छ। भ्रष्टाचारिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ।’
घाइतेहरुको कान्तिपुर अस्पताल तीनकुनेको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। नेताहरु प्रेमिका रानामगर, धर्म शाही र मन्दीप साहलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त तीन कुनेमा राखेको छ।