कर्णाली प्रदेशमा चिकित्सा शिक्षासहित विशेषज्ञहरुबाट उपचार प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ। प्रतिष्ठानमा एमबीबीएस, जनस्वास्थ्य, मिडवाइफ लगायतका कार्यक्रम सुरु भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावल हालै काठमाडौं आएको समयमा स्वास्थ्यखबरकी रिता लम्सालले उनीसँग गरेको कुराकानी:
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा दुई वर्षको अवधिमा के–के काम गर्नुभयो? यो दुईवर्षको समय अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
मैले गरिरहेको काम म आफैंले मूल्यांकन गर्नुभन्दा पनि अरुले मुल्यांकन गर्ने हो। त्यहाँका जनताले मूल्यांकन गर्नुपर्ने विषय हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका दुई वर्षभन्दा बढी अवधि काम गरिसकेको छु। अझै पनि काम गरिरहेकै छु। दुई वर्षसम्मको अवधिलाई हेर्दा भने संर्घषमै बित्यो। पहिलो कुरा त प्रतिष्ठानलाई टिकाइराख्न र प्रतिष्ठानले देशलाई के दिन सक्छ भन्ने बुझाउँदैमा समय बित्यो। तर अझै बुझ्ने मान्छे भेटिएनन्।
देशभर आर्थिक संकट देखिन थालेको छ। अभावका बीचमा पनि हामी सस्टेन हुने कोसिस गरिरहेका छौं। म प्रतिष्ठानमा उपकुलपति भएपछि नै एमबीबीएसको शैक्षिक कार्यक्रम सुरु गरियो। स्नातकोत्तर तहको पनि पाँच वटा शैक्षिक कार्यक्रम (एमडी/एमएस) सहित नयाँ १४ वटा शैक्षिक कार्यक्रम सुरु गरियो। शैक्षिक कार्यक्रमहरु बढेको छ। सेवा पनि बढेको छ। म आउनुअघि बढीमा २३ जना विशेषज्ञ हुनुहुन्थ्यो। अहिले ९२ जना विशेषज्ञ हुनुहुन्छ। मेडिकल अफिसरसहित एकसय भन्दा बढी चिकित्सक हुनुहुन्छ। स्टाफहरु सबै गरेर करिब ४ सय पुगिसकेको छ।
यो दुई वर्षमा आफूले गर्न नसकेको काम के–के देख्नुहुन्छ?
प्रतिष्ठानमा आवश्यक तर हुन नसकेको कुरा रिसर्च हो। रिसर्चमा एउटा सिस्टम विकास गर्नलाई क्वालिटी मेनपावर र अर्को आर्थिक स्रोत चाहिन्छ। यो दुवै कुरामा हाम्रो पहुँच नहुँदा रिसर्चमा काम गर्न सकेका छैनौँ। जर्नल पब्सिल गर्ने र रिसर्च सेन्टरबाट फ्याकल्टीले गर्ने बाहेका रिसर्च हामीले गर्न सकेका छैनौँ। अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी ठूला–ठूला रिसर्च गर्न सम्भव हुँदाहुँदै पनि सकेका छैनौं। यसको लागि केन्द्र सरकारको सपोर्ट हुनुपर्छ तर केन्द्र सरकारबाट यसमा सपोर्ट पाएका छैनौं।
प्रतिष्ठानको शैक्षिक र उपचार सेवाको निरन्तरता र विकासका लागि कस्ता–कस्ता चुनौतीहरुको सामाना गर्नुपर्यो?
देशको स्वास्थ्य क्षेत्रका कायपलट गर्न सक्ने क्षमता भएको हाम्रो प्रतिष्ठान हो। यसले नेपालको २२ प्रतिशत भूगोल समावेश गर्छ। कर्णालीको जनसंख्याको हिसाबले पनि १८ लाख छ। हामीले अहिले कर्णालीका जिल्लाहरुको स्वास्थ्यलाई विकास र विस्तार गर्ने कार्यक्रम गरिरहेका छौं। मुगु, हुम्ला, दैलेख, कालिकोट र अरु जिल्लाका अस्पतालमा हामीले प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सक पठाइरहेका छौं। बाजुराको कोल्टीमा पनि हाम्रो प्रतिष्ठानको प्रसूति रोग विशेषज्ञ कार्यरत हुनुहुन्छ। प्रदेश सरकार र केन्द्र सरकारबाट यो सम्भव थिएन। दुर्गम जिल्लामा विशेषज्ञ पठाउन नसकेको अवस्थामा हाम्रो प्रतिष्ठानले सरकारसँग समन्वय गरेर विशेषज्ञ पठाइरहेको छ। यसले दुर्गमको स्वास्थ्य सेवाको पहुँच विस्तारमा धेरै सहयोग पुगेको छ। स्वास्थ्य सुविधाले स्वास्थ्यका सूचकहरुमा प्रत्यक्ष रुपमा सकारात्मक परिवर्तन हुनुका साथै समग्र मानव विकास सूचकांकमा प्रतिष्ठानको ठूलो भूमिका छ। तर यो कुरा बुझाउन खोज्दा हाम्रो स्वर मात्र सुकेको छ। कसैले सुनेको छैन।
काठमाडौंमा पोलिसी मेकरहरुले पोलिसी बनाउँछन्। समान स्वास्थ्य सेवा विरतण गर्ने, जहाँ अभाव छ त्यहाँ जनशक्ति परिपूर्ति गर्ने गर्नुपर्छ। जसले गर्दा समग्र देशकै स्वास्थ्यमा सुधार हुन्छ तर जहाँ अभाव छ त्यो अभाव पूर्ति गर्ने प्रतिष्ठानलाई नै स्ट्रेन्थेन नगर्दा बलियो नबनाउँदा समस्या हुन्छ।
राज्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेन भन्न खोज्नुभएको हो?
हो, कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेका छैनन्। स्थानीय, प्रदेश र सरकार सबै। सेन्टर मेकानिजम भएको सरकारले कर्णाली बुझ्न सकेको जस्तो नै लाग्दैन। म उपकुलपति भएपछि मात्र आन्तरिक छलफलहरु सबैसँग गरिसकेको छु। यसअघिका प्रधानमन्त्रीदेखि अहिलेका प्रधानमन्त्री, पूर्वराष्ट्रपतिदेखि सबै राजनीतिक नेतृत्वहरु र मन्त्रीहरुसँग पनि व्यक्तिगत रुपमै गएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्वलाई बुझि यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउन आग्रह गरेँ। तर कर्णालीलाई बुझ्ने राजनीतिक नेतृत्व नै भेटिएनन्।
स्वास्थ्य मन्त्रालयमा मन्त्री परिवर्तन भइरहने, कहिले मन्त्रीविहिन हुने भएकाले पनि उहाँहरुलाई कर्णाली बुझाउन सकिएको छैन। राजनीतिक अस्थिरतका कारण हाम्रो जस्तो विकासको क्रममा रहेको प्रतिष्ठानको स्तरोन्नतिमा असर परेको छ।
कर्णालीका स्थानीयले प्रतिष्ठानलाई कसरी हेरेका छन्?
म एकदशक भन्दा बढी समयदेखि नै कर्णालीको स्वास्थ्य क्षेत्रसँग जोडिएको छु। विशेषज्ञकै रुपमा काम गर्न थालेको मात्र ८ वर्ष पुग्यो। त्यहाँ धेरै थरीका मानिसहरु छन्। अधिकांस मानिसहरु प्रतिष्ठानको विकास र सुधारका बारेमा सोच्ने छन्। अनि साना–साना इन्ट्रेस्ट हेर्ने र त्यो चित्त बुझेन भने विरोध गर्ने जमात पनि सानो संख्यामा त्यहाँ छ। अर्को जो प्रतिष्ठानको कारण स्वास्थ्य सेवा सुविधा उपभोग गरिरहेका छन्।उनीहरुका लागि लाभदायक भएको छ। सेवा लिने बिरामीले सेवा लिनुअघि र सेवा लिएपछि प्रतिष्ठानप्रतिको सोचाइमा फरकपन आएको छ।
कर्णालीका स्थानीयलाई एकजनाको सामान्य अप्रेसन वा स्वास्थ्य उपचारमा काठमाडौं आएर फर्किदासम्म एकलाख भन्दा बढी खर्च हुन्छ भने त्यही उपचार पाउदा उनीहरुको बढीमा ३५ हजार लाग्छ। प्रतिष्ठानकै कारण कर्णालीका जनताको अर्बौ पैसा खर्च हुनबाट जोगिन्छ। प्रतिष्ठानले त्यहाँका जनताको खर्च बचाएको कुरा राज्यले बुझ्न सकेको छैन।
कर्णाली बुझाउन आफ्नो स्वर सुक्यो भन्नुभयो। सरकारले कुन कुरा बुझ्न सकेन?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म स्थापना कालदेखि नै संलग्न छु। सरकारले कर्णालीमा बिरामी नै छैन भन्छन्। राज्यको भार भयो भन्ने पनि छन्। प्रतिष्ठानलाई राज्यले पाल्नुपर्ने भयो भन्ने पनि छन्। देश दुनिया र भूगोल नबुझेको र गरिबी र समानताको कुरा नबुझ्ने मान्छेले मात्र यस्तो कुरा गर्ने हो जस्तो लाग्छ मलाई।
मेडिकल कलेजको स्थायीत्व हुन प्यासेन्ट फ्लो वा जनसंख्या मात्र मापक होइन। त्यहाँका जनताको न्याय र आवश्यकताको हिसाबले पनि त हेर्नुपर्छ। तर राज्यले कहिल्लै हेरेन। म अस्पतालको निर्देशक हुँदा राकाम कर्णालीको १०० बेडको अहिले र पछि ७०० बेडसम्म पुग्नेगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेरिफेरियल टिचिङ अस्पताल बनाऔं भन्ने कन्सेप्ट ल्याएँ।
राकममा इफेक्टिभ क्याचमेन्ट ९ लाख छ। सुर्खेतका अस्पताल भन्दा राकममा दुईगुणा बढी बिरामी हुन्छन्। सडक बाटो पनि सहज हुन लागिरहेको छ। त्यसो हुँदा दुवै तर्फ गर्दा हामीसँग २५ सय देखि ३००० हजार बिरामी दैनिक हुन्छन्। यदी त्यो भयो भने सरकारसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक रुपैयाँ पनि माग्न पर्दैन। आन्तरिक आयस्रोतबाट नै प्रतिष्ठान चलाउन सकिन्छ। राकममा अस्पताल बन्यो भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जस्तै बिरामीको फ्लो हुन्छ तर त्यसको लागि बेसिक इन्फ्रास्टक्चर त राज्यले बनाउनुपर्छ।
प्रतिष्ठानको अहिले ३०० बेडको अस्पताल बाहेक अरु केही नयाँ संरचना बनेको छैन। गेटामा ९ अर्बको खर्चमा संरचना बन्यो। ४ वर्ष भयो भवन बनेको तर अहिलेसम्म प्रयोगमा आएको छैन। बर्दिबासमा पनि ३२ अर्र्बको बजेट गएर नयाँ मेडिकल कलेज बन्दै छ। तर कर्णालीलाई खै त? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यो ३२ अर्ब मागेको छैन। हामीले आवश्यकता पहिचान गरेर सहयोग गर्नुहोस् भनेका हौँ। तर यहाँको समस्या कसैले बुझेन।
कर्णाली प्रतिष्ठानमा २ जना मात्र अस्पताल भित्रको क्वाटरमा बस्छौं। अरु सबै फ्याकल्टी डेरामा बस्नुपर्ने अवस्था छ। फ्याकल्टीले बस्ने भवन समेत नपाएपछि कुन मोटिभेसनले प्रोफेसर कर्णालीमा बस्छ? कर्णालीका जनताले ५०० रोपनी जग्गा दिएर भवनको डिपिआर बनेको ४ वर्ष भयो। तर राज्यले त्यो भवन बनाउन सकेको छैन। सबै शैक्षिक कार्यक्रम चलाउन सुरु गरिसकेको प्रतिष्ठानमा राज्यले भौतिक पूर्वाधारमा ध्यान नै दिएको छैन। नेपालमा आवश्यकताको आधारमा भन्दा पनि पहुँचमा भएको व्यक्तिको रुचीको आधारमा बजेट बन्छ। समान पहुँचका लागि सबैले स्वास्थ्य सेवा पाउनुपर्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार सेवातर्फ कसरी काम गरिरहेको छ?
सेवाको हिसाबले जुम्लामा सेन्ट्रल अस्पताल छ। त्यहाँ मल्टिस्पेसालिटी सेवा विशेषज्ञ चिकित्सकहरुबाट दिइसकेका छौं। त्यो बाहेक आवश्यकता भएको कर्णालीका जिल्लाहरुमा कर्णाली प्रतिष्ठानबाट चिकित्सक पठाएका छौं। सरकारले आवश्यकता छ भनेको ठाउँमा सरकारसँग समन्वय गरेर हुम्लाको जिल्ला अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ पठाएका छौं। मुगु जिल्ला अस्पतालमा पनि हाम्रो जनरल फिजीसीयन चिकित्सक हुनुहुन्छ। सरकारले नै चिकित्सक पठाउन नसकेको जिल्लामा प्रतिष्ठानका चिकित्सक गएर सेवा दिइरहनु भएको छ।
दैलेखको राकममा तीन वर्षदेखि नै एकजना चिकित्सक हुनुहुन्छ। कालिकोटमा एमडिजिपीमा पनि चिकित्सक पठाउने योजनामा छ। दुर्गम गाउँमा अस्पतालको भवन मात्र बनाएर केही हुँदैन। त्यहाँ जनशक्ति कसरी टिकाइराख्ने भन्ने सोच्न आवश्यक पर्छ। तर राज्यले यसमा सोचेकै हुँदैन।
प्रतिष्ठानको विकासका लागि आगामी योजनाहरु के–के छन्?
हाम्रो पहिलो प्राथमिकता अहिले राकाम कर्णालीमा टिचिङ अस्पताल बनाउने हो। त्यो राज्यका लागि नै हो। प्रतिष्ठानको सेल्फ सस्टेन्टको लागि पनि राम्रो हो। कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गको मुख्य स्थान राकाममा हामीले अस्पताल बनाउने लक्ष्य लिएका छौ। त्यहाँ अस्पताल बन्यो भने पुरै हुम्ला, दैलेख अछाम, जाजरकोट र आधा कालिकोटको उपचार गर्ने ठाउँ नै त्यही हुन्छ। त्यहाँ अस्पताल बन्ने हो भने प्रतिष्ठानको आर्थिक भार राज्यलाई पर्दैन। त्यहाँका जनताले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउँछन्।
राज्यले सहयोग गरेन भने अन्तर्राष्ट्रिय स्तरमा सहयोग मागेर भए पनि त्यहाँ अस्पताल बनाउने मेरो लक्ष्य छ।
अर्को, जुम्लाका प्रोफेसर, एसोसियट प्रोफेसर, भर्खरै चिकित्सक भएकाहरु छन् उनीहरु त्यहाँ स्थानीयको घरमा डेरामा बस्छन्। कहिले बत्ति कहिले पानी आउँदैन। संर्घष गरेर बस्नुपर्ने अवस्था छ। प्रतिष्ठानको क्वाटर भइदिएको भए उनीहरुले न्युनतम सुविधा पाउँथे। क्वालिटी अफ लाइफ हुन्थ्यो। जुम्लामा इन्फ्रास्टक्चर बनाउने मेरो दोस्रो लक्ष्य छ।
रिसर्चका लागि क्यानडा, युकेको विश्वविद्यालयहरुसँग एमओयू गरेका छौ। प्रोटेन्सियल विश्व विद्यालयहरुसँग रिसर्चमा बलियो समन्वय गर्ने लक्ष्य छ। मेडिकल रिसर्च, माउन्टेन मेडिकल रिसर्च, रुरल हेल्थका विषयमा प्रोटेन्सियल भएको हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै हो। यसलाई प्राथमिकतामा राख्ने हाम्रो योजना छ।
राकममा टिचिङ अस्पताल भयो भने अर्को १०० सिट एमबिबिएस, १०० एमडी/एमएस र पिएचडीमा शैक्षिक कार्यक्रम बढाउन सकिन्छ। मेरो कार्यकाल अब दुईवर्ष बाँकी छ। यो दुईवर्ष नै सबै कुरा पुरा गर्न त सकिँदैन। तर हाम्रो टिमले प्रयास गर्छ। अर्को कुरा त्यहाँ काम गर्ने प्रोफेसरहरुका छोराछोरीका लागि पढ्न स्कुलको पनि विकास गर्नुपर्ने आवश्यकता छ। बुढाबुढी नै चिकित्सक धेरै हुन्छन्। उनीहरु छोराछोरी पढाउनका लागि पनि दुर्गममा जान सक्दैनन्। धरानमा विद्यालयको सुविधा छ। त्यसैले परिवार नै त्यहीँ बसेर काम गरिरहेका छन्। त्यहाँका स्थानीयसँग समन्वय गरेर राम्रो विद्यालय बनाउन सकियो भने प्रोफेसरहरुलाई परिवारसहित त्यही बस्ने बनाउन सकिन्छ भन्ने लागेको छ।