अठार वर्षकी युवतीको पेटको तल्लो भागमा डल्लो देखा पर्यो। महिनावारी नभएकाले कतै गर्भ त बसेन भनेर शङ्का लिनुलाई त्रुटिपूर्ण सोचाइ भन्न मिल्दैन तर कहिले पनि रजस्वला नभएकी, विवाह नगरेकी र सधैँ पेटको तल्लो भाग दुख्यो भनेकै पाँच वर्ष भइसकेको अवस्थामा गर्भ रहेको शङ्का मात्र गरेर समय वर्वाद गर्न पनि मिल्दैन।
अग्ली, दुब्ली मानौँ खाली छाला र हड्डी, गहँुगोरी दुवै आँखा भित्र गढेका, अनुहार निन्याउरो पूरै बादल लागेजस्तो, दाहिने हातले तल्लो पेट समात्दै आइन् युवती बहिरङ्ग विभाग। युवतीलाई फलामे मेचमा बसालेपछि अन्योल र निकै आक्रोशित स्वरमा भन्न थालिन् आमा।
‘यो अठार वर्षकी भई, पछिल्लो पाँच वर्ष खाली एउटै गन्थन। प्रत्येक महिना ४–७ दिन तल्लो पेट दुःख्यो भनेर कराउँछे। पिसाब राम्ररी फेर्न सक्दिनँ। दुई पल्ट त पिसाब रोकिएर डाक्टरकहाँ जाने भन्दैथ्यौँ तर बाटैमा सब लुगामै..! लाज मर्दाे। अनि घरै फर्कियाँै। नाटक गरेकी हो कि क्या हो? बुझ्नै गाह्रो, दुब्लाउँदै मर्ला झैँ भइसकी। अब केही काम गर्नै सक्दिनँ। पहिला उसैले घरमा के मात्र गर्न भ्याएकी थिइन्? आधा घरधन्दा उसैले धान्थी। महिनामा एक हप्ता अब मैले उसैलाई हेर्नु पर्छ। कुल देवताको पनि पूजा ग¥यौं। अहँ! केही सिप लागेन। धामीझाँक्री त्यसै उफ्रन्छन्। नराम्रो आँखा पर्यो भन्छन्। काँ छन् ती आँखा? थाहा पाए फुटाई पनि दिन्थे। वाक्कै भइसक्यौँ’ बिरामीले अहिलेसम्म एक शब्द पनि उच्चारण गरेकी थिइनन्। उनी बसेको ठाउँ नजिकै म गएँ। घाँटीमा कतै गिर्खाहरू छन् कि भनी पछाडिबाट हेरेँ, स्पर्श गरे, छैनन्। बिरामीलाई खाटमा पल्टन भने। ज्यादै सतर्कताका साथ उनी उठिन्। मानाँै पेट भित्रको कुनै उग्र सङ्क्रमणले औधी पीडा दिइरहेको छ तर ज्वरो छैन।
गजब त पीडा सिर्फ ५–७ दिनमात्र। मात्र एक दुई दिनको फरकले ठिक महिनामै। मूत्रथैली वा मूत्रप्रणालीको वा पित्तथैलीको पत्थरीमा प्रत्येक महिना ५–७ दिन मात्र दुःख्ने किन हुनु प¥यो? करिब ७ दिनपछि दुःख्ने आफैं हराउने। बिरामी खाटमा पल्टेपछि एक जना परिचारिकालाई बोलाएर अगाडि उभ्याउँदै उनको महिनावारी बारे सोधँे। कहिलेदेखि महिनावारी हुन थाल्यो? यही प्रश्न परिचारिकाले सोधिन्। एकछिन् म पर्दा पछाडि भएँ। १८ वर्ष भए पनि कहिले पनि योनीबाट रक्तस्राव भएकै छैन। यो यथार्थ परिचारिकाले यकिन गरिन् अनि मैले सोधेँ– योनीबाट सेतो पानी बग्ने वा अरु केही बगेको अनुभव कहिले भएथ्यो? बिरामीले हाम्रो प्रश्नदेखि वाक्क भएर ‘पिसाब बाहेक केही पनि बग्दैन’ भनिन्।
बिरामीका काखी र जनाना अङ्गमाथिका रौं उमेर र लिङ्ग अनुरूप नै छन्। दुवै स्तनको विकासमा कुनै कमी, खोट थिएन। तल्लो पेटमा हत्केला राख्दा ठूलो डल्लो स्पर्श हुन्थ्यो। मैले बिरामीलाई परिचारिकासँग पिसाब एउटा भाँडोमा फेर्न र कति हुँदो रहेछ ल्याएर देखाउन भनें। ३०० मिलि पिसाब सफा बिना कुनै नराम्रो गन्ध तर पिसाब फेर्दा उसले ज्यादै बिस्तारै मसिनो धारो, बीचबीचमा बल गर्दै, फेर्दै, कन्दै गर्नुपर्ने। छ्वाल्ल पिसाब नभएको झण्डै ३ वर्ष भयो रे। बिस्तारै पिसाबको बेग कम हुँदै आयो। पछिल्लो समय कन्दै पिसाब फेर्नु पर्ने भयो।
बिरामी फेरि खाटमा पल्टिइन्। पेटको डल्लो बिल्कुलै घटेन उल्लेखनीय फरक न त्यसको सारोपनमा। खुट्टा खुम्च्याएर भित्री जाँचका निम्ति बिरामीलाई तयार गर्न परिचारिकालाई निकै बेर परामर्श मात्र होइन, सङ्घर्ष नै गर्नु प¥यो। अन्तमा जब बिरामी तयार भइन् रोग निवारणको ढोका खुल्यो। बिरामीको योनीच्छेद पूर्ण मात्रामा टालिएको रहेछ। त्यो निलो टुटिलोको रूपमा योनीको बीचमा फुलेर बसेको थियो। त्यो बेला पेटको डल्लोलाई हलुकासँग थिच्दा योनीका बीचमा फुलेको भाग झनै तन्केको अग्लो हुन्थ्यो। रोगको यकिन भयो। यो अवस्थालाई मेडिकल भाषामा इम्पर्फोरेट हाइमिन भनिन्छ। यो नेपालीमा ‘छेदरहित योनीपट वा टालिएको योनीच्छेद’ भन्न सक्छौँ।
रोगको पूर्ण पहिचान भइसकेपछि मैले बिरामीकी आमालाई बोलाएर एक दिन भर्ना गरेर ठिक भएपछि भोलि घर जान मिल्छ भनेँ। पहिला उनी विश्वस्त हुन सकिनन् तर केहीबेरमै भर्ना गराउन सहमत भइन्। यो बीचमा मैले परिचारिकालाई शल्यकक्ष सानो अप्रेसनको निम्ति तयार राख्नु तर बिरामीलाई शल्यक्रिया गर्नुपर्छ कुनै हालतमा नभन्नु। किनकि, उनी ज्यादै डराउने, जिद्धिवाला र वर्षाैंको पीडाले गर्दा झर्किने र दर्द सहनै नसक्ने भएकी थिइन्।
बहिरङ्ग विभागमा हेर्नु पर्ने सबै बिरामी सिद्धिसकेपछि सोझै शल्यकक्ष गएँ। शल्यकक्षकी परिचारिकाले पूर्ण तयारी गरेकी रहिछिन्। बिरामीलाई लिथोटोमी पोजिसनमा राखेर एउटा क्रस आकारको छेदन योनीको मुखमा भएको टालिएको जालोमा दिनु थियो। केही गर्ने होइन, जाँच्न मात्र भन्दै दुई जना परिचारिकाले बिरामीलाई मनाएर लिथोटोमी पोजिसनमा राखे।
सोझै बिरामीले औजार नदेखोस् भन्न एउटा पर्दा उनको छाती र पेटको बीचमा राखिएको थियो। नर्मल सेलिनले जनना अङ्ग सफा गरेपछि जीवाणुविहीन बिचमा प्वाल भएको कपडाले ढाकेपछि एक प्रतिशत जाइलोकेन टालिएको योनीको मुखमा लगाएँ। परिचारिकालाई पेटको डल्लोमा हलुकासँग थिच्न भनेर योनीको जालो बढी कडा पार्न सहयोग मागेँ। स्कालपेलले मूत्रनलीको बाहिरी प्वालभन्दा निकै तल योनीजालोको बीचमा एउटा क्रस आकारको घाउ बनाएँ। बाहिरको पत्र चिरिसकेपछि अझ बढी नीलो फुलेको मसिनो जालो आँखाअगाडि पर्यो। त्यसलाई कैँचीले प्वाल पार्नासाथ भित्रबाट –योनीबाट तताएको अलकत्राजस्तो तर केही खैरो रङ्ग भएको महिनावारीको रगत एकनासले बगिरह्यो।
यो अवधिमा बिरामीले दुःख्यो इत्यादि कुनै गुनासो गरिनन्। दुई किड्नी ट्रे त्यस्तो रगत निस्किसकेपछि बल्ल पेटको डल्लो बिस्तारै कम हुँदै हराउने अवस्थामा पुग्यो। प्रायः पेट थिचेर बाँकी रहेको सबै स्रवित श्लेष्मिक पदार्थ निकाल्ने प्रयत्न गर्न हुन्न। त्यस्तै योनीभित्र औला हालेर सबै निखार्न आवश्यक हुन्न। यसले उल्टो सङ्क्रमण गराउने सम्भावनालाई उच्च बनाउँछ। त्यसैले निर्जलीय गजप्याड योनीको मुखमा राखेर टेपले टाँसिदियौँ। बिरामीलाई ह्विलचियरमा राखेर उनको बेडमा आराम गर्न पठायौं। खाटमा पल्टिँदा उनको अनुहार नै फेरिएको अनुभूति हुन्थ्यो।
बेलुका म राउण्डमा जाँदासम्म तीनपल्ट भिजेको पट्टी फेरेको परिचारिकाले सुनाइन्। बिरामीका अनुहारमा पीडाका बादल कतै देखिँदैनथे तर उनीले यो उमेरसम्म गर्न नपाएको रजस्वलाको पहिलो अनुभूति बिस्तारै बटुल्दै थिइन्। केही कुरा योनीबाट तरल पदार्थको रूपमा निस्किरहेछ र भिजेको प्याड २–४ घन्टामा सजिलोको निम्ति फेर्नु परेको छ। बिरामीकी आमासँग कुरा गर्दा सबैभन्दा खुसी मैले उनीलाई नै पाएँ।
छोरी गर्भवती भइछे भन्ने भय मनमा गढेको भए पनि आफैंँले पेट छामी हेर्दा डल्लो नपाएकाले उनको भय उडेर बादलसँगै कता गयो कता। गाउँका थुप्रै आइमाईले ‘१८ वर्षकी छोरीलाई विवाह नगरेर घरमा राखिस् अब तँलाई आपत पर्ने भयो’ भन्दै सावधान तुल्याउने गरेका रहेछन्।
यस्ता चेतावनीका वाक्य एकातिर र दिनप्रति दिन सुक्दै गएकी छोरी देख्दा उनी भित्रैदेखि त्रसित रहिछिन्। अब बल्ल उनीमा आशा पलाएछ तर पनि कतै गाउँमा ‘अस्पताल गई गर्भ फालेर आई’ पो भन्ने हुन् कि भन्ने सानो डर अझै थियो तर पछि छोरीको रोग निको हुने भो। ऊ गर्भवती रहिनछे। यो भावनाले उनी त्यसै चङ्गी भएकी थिइन्। मिल्छ भने छोरीलाई २–४ दिन अस्पतालमै राखेर अलि बल्ली, हेर्न हुने भएपछि मात्र घर लैजाने इच्छा प्रकट गरिन्। त्यसमा मेरो सहमति नहुने प्रश्नै थिएन। अस्पतालमा बेडको समस्या थिएन।
सामान्य अवस्थामा प्वाल नभएको पूर्ण रूपमा टालिएको योनीपटको अप्रेसन गरेर बिरामीलाई तुरुन्तै पनि घर पठाउन मिल्छ तर यो बिरामी ज्यादै कमजोर करिब ५ वर्षदेखिको बाहिर देखिन नसकेको प्रत्येक महिना रजस्वला निख्रन नपाउनाको पीडा। योनी, पाठेघर र फेलोपियर ट्युबहरू पनि सायद फुलेका।
यति वर्षदेखि निस्कन नसकेको स्रवित श्लेष्मिक पदार्थ जुन पाठेघरबाट छुिट्टएर बाहिर आउनु पर्ने हो त्यसले तन्काएको योनी, पाठेघर। कम्मरको दुःखाई पिसाब फेर्नमा भएको सास्ती।
यस्तो अवस्थामा मूत्रनली सामान्यभन्दा लामो र मसिनो भएको हुन्छ र सबैभन्दा बढी मानसिक यातना र खल्बलीलाई ध्यानमा राख्दै मैले बिरामी केही दिन भर्ना भएरै बसेकामा खुसी व्यक्त गरेँ। पाँच दिनपछि बिरामी निकै तङ्ग्रिइन्। खाना पनि टन्न र रुचिपूर्ण। हिँड्डुल पनि फूर्तिसँग। आफैं अब आमालाई घर जाम भन्न थालिन्। योनीबाट पनि कुनै पनि तरल पदार्थ वा श्लेष्माको दाग गजप्याडमा परिचारिकाले ठम्याउन सकिनन्।
आज उनी घर जाँदैछिन्। तल्लो पेटमा कुनै पीडा नभएकाले भित्री रक्तस्रावले हुनसक्ने बिना सङ्क्रमणको पेरिटोनाइटिस छैन भन्नेमा म ढुक्क भएँ। टालिएको योनीपटलको अर्काे हुनसक्ने जटिलता हो एण्डोमिट्रियोसिस यो अवस्थामा पाठेघरको भित्री तहको तन्तु विभिन्न ठाउँमा पाठेघरबाहिर डिम्बाशय, पेटभित्र, मूत्रथैलीमा, नाइटो, मोटो आन्द्राको तल्लो भाग इत्यादि जहाँ पनि वृद्धि भएर दुःखाउने र रक्तस्राव गराउन सक्छ।
त्यो छैन होला भनेर सोच्न मात्र सकिन्थ्यो हाम्रो अस्पतालको साधनको आधारमा। आमाछोरी ज्यादै खुशी भएर अस्पतालबाट बिदा भई निस्के। म एक टक लगाएर हेर्दै थिएँ। एक्कासि परिचारिकाले अझ त्योभन्दा बढी खुसी र चकित भई मलाई भनिन् ‘यस्तो हुन्छ भनेर कहिले पनि सोचेकीसम्म थिइनँ। पहिलो पटक अस्पताल छिराउँदा त पक्कै त्यो दुई जिउकी होली भन्ने ठानेकी थिएँ। ...बिचरी!’
मलाई पनि भन्न मन लाग्यो सिष्टर! अब कसैको छोरी जन्मी भने हेर्न नबिर्सनुहोस्। यस्तो अवस्था एक हजारदेखि दश हजार जन्ममा एउटा देखिने गर्दछ तर शल्य उपचार थाहा पाउनासाथै गर्नु पर्छ भन्ने छैन। रजस्वला सुरु हुनु अगाडिको उमेरमा गरे हुन्छ।
गर्भ विकासको भूलका कारण योनीको छिद्र नभएको बिरामीको उपचार गरेर पठाएको एक हप्ता मात्र भएको थियो। भू्रण अवस्थामा हुने यस्ता कमजोरी तथा भूलको शल्यक्रियाबाट शुद्धीकरण हुनसक्दो रहेछ भनेर अस्पतालका थुप्रै स्वास्थ्यकर्मीले अनुभूति गरिसकेका थियौँ तर एक हप्ता नबित्दै मेरो बहिरङ्ग विभागमा एउटा रुन पनि शक्ति नभएको तीन दिन अघिमात्र यो पृथ्वीमा नागरिक हुने आशाले आएको शिशुलाई काखमा च्याप्दै एउटी नारी मेचमा बसिन्। बच्चाकी आमा भएको हर्षबिना। अनुहारका आँखामा चिन्ताका ज्वाला प्रष्ट देखिने। केही भन्न खोज्छिन् तर स्वर फुट्दैन। निधारको पसिना पु्च्छिन् दाहिने हातको चार आँैलाले। छर्किन्छिन् पसिनाका थोपा भुइँमा केही शान्त हुन तर अझै पनि किन हो वाक्य फुट्दैन। म आफ्नो मेचबाट उठेर उनीहरू नजिक गएँ। खासै सोध्ने मन भएन। शिशुलाई सुरक्षा दिइरहेको आमाको दाहिने हात अलि पर गरेर यसो हेर्दा एक्कासि म झस्केँ।
नारीको हात मानौं बलिरहेको गुइँठाजस्तै तातो। यताउता हेरेँ कसको साथमा उनी आइन्? पाले दाइलाई बोलाउन भनेँ। शिशु वृद्धको जस्तै चाउरी परेको त्वचा। हेर्दै दया–माया लाग्ने। सुकेको अनुहार र सम्पूर्ण शरीर। पाएन उसले यो पृथ्वीमा तरल पदार्थ आफ्नो त्वचा केही पुष्ट पार्न। मानाैँ छैन उसको निम्ति पानी यो हिमाली देशमा। छ ऊ मानौं मरुभूमिको पोल्ने सुख्खा बालुवामा।
दुइटा आँखा गाडिएका। गुच्चाजस्ता टल्कने तर दयनीय। पेट फुलेको मानाैँ रक्सीले कलेजो बिगारेर पानी भरिएको टन्किएको पेटजस्तै। आफ्नो पेट आफैंलाई श्वास थिच्न अघि सरेजस्तो। शिशुलाई ज्वरोले आगो जस्तै रन्किएकी आमाले धान्न नसकेर होला मेरै टेबुलमा एक्कासि राखिदिइन्।
शिशु बाँधेको कपडा–थाङ्नो मैले केही होलो गरिदिएँ। उसले हलुकासँग मानौं विपरीत दुवै सुकेका र चाउरिएका खुट्टा मोड्दै, बुढी औँलाहरू माथि फर्काउँदै थियो मानौँ हामीले उसका पैतालामा काउकुती लगाएका थियौँ। लामो सुस्केरापछि आमाले वाक्य फुटाइन्।
‘उसको पेट फुलेको फुल्यै छ। जन्मेदेखि नै दिसा एकपल्ट पनि भएको छैन। तुरुन्तै मैले प्रश्न फालेँ, ‘बान्ता भएको छ? पिसाब कत्तिको गर्छ? कति महिनाको जन्म्या? दूध पिएको १० मिनेटमै आज पहिलोपल्ट बान्ता गरेछ। दूधजस्तै बान्ता काखमा लिएर हल्लाउँदा। पिसाब थोरै ४–५ घन्टामा मात्र। शिशु जन्मँदा ८ महिनाको गर्भ।
पेटमाथि औँलाराखी आँैलाले ट्वाकट्वाक गर्दा पेटमा प्रचुर मात्रामा वायु भएको अनुभूति भयो। शिशुका दुई खुट्टा समाती मैले केही माथि उठाएँ। मलद्वार भएको ठाउँमा कुनै प्वाल देखिएन। औँलाले छामँे। छैन प्वाल–नखुलेको बन्द ढोका! लिङ्ग हेरँे अग्रचर्म केही खोलेँ दिसाजस्तो
पिसाबको नलीबाट केही आएको छैन। अण्डकोष दुवै शुक्रग्रन्थी आफ्नै ठाउँमा। फेरि मलद्वार हेरँे। नजरमा खाली बाक्लो झिल्लीले ढाकेको! फेरि एकपल्ट आफ्नो कान्छी आँैलाको टुप्पोले घोचेजस्तो गरेँ। कहीं प्वालको नाम निशाना छैन।
रोगको निदान भयो। बच्चाको मलद्वारमा हुनुपर्ने प्वाल–छिद्र जहाँबाट दिसा निस्कनु पर्ने हो त्यो नै छैन। हामीले चिकित्सा विज्ञानमा भन्ने गरेको ‘इम्पर्फाेरेट एनस’। छिद्रहीन गुदद्वार वा अछिद्री मलद्वार। मैले त्यसबेला काम गरिरहेको अभावग्रस्त अस्पतालमा एक्सरे थिएन। त्यसैले शल्यक्रियाको सिलसिलामा कति गहिरो जानु पर्ला थाहा पाउन सम्भव थिएन। सामान्य एक्सरे जसमा शिशुको मलद्वार हुनु पर्ने ठाउँमा एउटा सानो पैसा राखेर टेपले अड्काएपछि टाउको तल खुट्टामाथि गरेर एकछिन समातिराखेपछि एक्सरे गरिन्छ। मोटो आन्द्रा जो मलद्वारमा गएर टुङ्गिन्छ त्यहाँ भएको हावा र पैसाबीचको भाग कति टाढा छ त्यसको आधारमा तल, बीचको र माथिको छुट्याइन्छ।
यो ज्ञान एक्सरेको अभावमा व्यवहारमा लागू गर्ने ठाउँ थिएन। शल्यउपचार गरेन भने शिशुको निकट भविष्यमै मृत्यु अनिवार्य छ। मैले बच्चा भर्ना गरिहालँे। इमरजेन्सी शल्यक्रियाको निम्ति सबै तयार गर्न र टिमका सबै सदस्यलाई खबर गर्न परिचारिकालाई भनेँ। जन्मेको दुई दिनभन्दा पनि ढिलो देखाउन आएकाले यद्यपि उसले दिसा, बान्ता गरेको थिएन अवस्था ज्यादै जटिल थियो। पेट औधी फुलेको तर आन्द्रा प्वाल परेको भने कुनै लक्षण देखा परिसकेको थिएन। चल्यो रुवाबासी बिरामीको आमा र सँगै आएका अरु दुई पुरुषका। पहिलो बच्चा लामो समय पर्खेपछि मात्र भएको रहेछ।
बिरामीको आमा र अरु साथमा आउनेहरू माझ १५ मिनटभन्दा बढी शिशुको रोगबारे परामर्श गरेँ। यो अवस्था ५ हजार जन्मेका बच्चामध्ये एकमा देखा पर्दछ। बिना लिङ्ग भेद–तर पुरुष शिशुमा ज्यादै धेरै। भू्रणको विकासको सिलसिलामा पाँचदेखि सात हप्ताको समयमै यो विषम अवस्था उत्पन्न भइसक्छ। यदि मलद्वारबाट शल्यक्रिया गर्दा आन्द्राको तल्लो भाग खोल्न नसके पेट खोलेर केही समय पेटबाटै दिसा निकाल्ने गरिकन छोड्नै पर्ने हुन सक्छ।
पछि शिशुको अवस्था सुधार भएपछि तथा केही ठूलो भएपछि फेरि अर्को शल्यक्रिया अनिवार्य हुन्छ। म के गर्न सक्छु? कति गर्दा दिसा बाहिर निकाल्न सकिन्छ नै भन्न सक्ने आधार छैनन्। मलद्वार सङ्कुचन एउटा जटिल विषय अवस्था हो तर यो विकृतिको शल्यबाहेक अरु उपचार हुँदै हुँदैन।
...यति परामर्श भएपछि नातेदरहरू र आमा शल्य उपचारका निम्ति कन्सेन्ट दिन बाध्य भए। यद्यपि, आमाको मन रोएको मात्र होइन आगोको ज्वालोमा दन्किएको जत्तिकै थियो। सायद सुत्केरीपछिको सङ्क्रमणले उनी आफैं आगोजस्तै जलेकी थिइन्। त्यसैले दुवैलाई भर्ना गरेँ। आमाको उपचार सुरु गरिहालेँ।
शल्यक्रियाको समयमा मलद्वार मर्मत सोचेभन्दा ज्यादै सहज तरिकाले भयो किनकि, अलिकता मात्र मलद्वारको ठाउँ खोल्दा वायु निस्कन सुरु भयो। थुप्रै वायुबेग चलेपछि मेकोनिउम –शिशुको सुरुको दिसा निस्कन थाल्यो। शिशु पक्कै पनि पेटको आयतन घटेकाले श्वास फेर्न नै सहज महसुस गर्दै थियो। चारैतिर टाँकाहरू दिएर भ्यासलिनमा भिजाएको गजले घाउ प्याक गरेँ। बीचमा मोटो रातो रबडको पाइप मोटो आन्द्राभित्र राखेको थियो। बच्चाको पेट झण्डै स्याप्पै हुन खोज्यो। कति राम्रो पुरस्कार प्रदानक शिशु परेछ! पक्कै ऊ त फलदायी छ नै। त्योभन्दा कम हामी पुरस्कृत थिएनौं। पेट खोल्न नपरेको समाचार दिँदा आमा खुसीले पुलकित भइन्। अझ बढी स्तनपान तुरुन्त गराए हुन्छ भनी शिशु दिँदा भइन् उनी हर्षविभोर। सायद आफ्नो ज्वरो र सङ्क्रमण उनले सबै एकैछिन्मा बिर्सिइन्।
दश दिन बिरामीलाई भर्ना राखेर टाँका काटेरै घर पठायौं। त्यो बेलासम्म उसको अनुहार र सम्पूर्ण त्वचामा देखापरेको चाउरी आधाभन्दा बढी नै हराइसकेको थियो। यो अप्रेसनले मौका र आवश्यकता पर्यो भने म पेडियनट्रिक सर्जरीमा सुपर स्पेसियलाइजेसन गरूँ भन्ने भावना पनि जन्मायो। यद्यपि, म अझै जनरल सर्जरीको ठूलो फाँटमा भर्खरै चर्न निस्केको थिएँ। अझै जनरल सर्जरीको अनुभव र अनुभूति थ्रुप्रै गर्ने रहर जिउँदै थियो।