केही वर्षअघिसम्म मलाई लाग्थ्यो, समयमा उपचार पाउनु भाग्य हो । तर अचेल बुझ्दैछु- समयमा उपचार प्रदान गर्नु कुनैपनि अस्पतालको क्षमता हो। त्यो संस्थाको कला हो। त्यहाँको नेतृत्वको कार्यकुशलता हो। अन्तत: कुनैपनि संस्थाको कुशल कार्यसम्पादनले सेवा प्रवाहको गुणस्तर निर्धारण गर्ने गर्छ। एक दिनको कुरा हो, म एकजना बिरामीको लागि गंगालाल अस्पतालको इमर्जेन्सी पुग्छु । त्यहाँ घटित दृश्य मलाई रोचक लाग्छ ।
सहिदको नामबाट राखिएको यो अस्पतालको प्रारम्भिक अनुभवले नै निकै जनप्रेमी प्रतीत भयो। सहिदको नामको पनि सम्मान भएको महसुस गरेँ। सहिदको एउटा सपना भनेको हरेक भुइँमान्छेले पनि समान गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरोस् भन्ने पक्कै हुन्छ । सो कुराको एउटा उदाहरण गंगालाल अस्पताल रहेछ।
कल्पना गर्नुहोस्, तपाईं कसैलाई चिन्नुभएको छैन । तपाईं एउटा ग्रामीण परिवेशको भुइँमान्छे हो। नेताहरुको संगत छैन। कोही पनि सानो वा ठूलो ओहदाको डाक्टरलाई चिन्नुहुन्न। कसैलाई भनसुन गर्ने ल्याकत छैन। तपाईं निकै सामान्य मान्छे हो । यो देशको नागरिक हो । चुनावमा खोजिने फगत एउटा भोट मात्रै हो।
तपाईंलाई एक्कासी केही घण्टादेखि छाती दुख्छ। गंगालालको इमर्जेन्सी पुग्नुहुन्छ। के तपाईंको उपचार ढिलो हुन्छ भन्ने लाग्छ? अधिकांश सरकारी कार्यालय र निजी कम्पनीका अफिसको अनुभव बोकेको व्यक्तिलाई कतै उपचारको लागि भनसुन गर्नपर्छ कि भन्ने लाग्न सक्छ। तर, तपाईँको सम्स्याको जटिलताले अस्पतालको एउटा सिस्टम नै तुरुन्तै जागरुक हुन्छ। त्यहाँ घट्ने परिदृश्य हेर्दा लाग्छ, तपाईंको चिन्ता तपाईँको ईश्वरले भन्दा बढी अस्पतालले चिन्ता लिइरहेको छ। एउटा कार्यसिद्धी गर्ने हुटहुटी देखिन्छ सबै संलग्न कर्मचारीमा।
तपाईँको इ. सि. जि. तुरुन्तै गरिन्छ। नर्सिङ स्टाफ त्यो इ. सि. जीमा हार्टअट्याक पत्ता लगाउन निकै सिपालु हुने रहेछन्। उनीहरुले औषधि तुरुन्तै खान दिन्छन्। र, त्यहाँको ड्युटीमा रहेका डाक्टरलाई खबर गरिहाल्छन्। एमर्जेन्सीमा कार्यरत चिकित्सकले आफ्नो सिनियर चिकित्सकलाई तुरुन्तै खबर गर्छन्। साथमा रोगको अवस्था र जटिलताका बारेमा बिरामीका आफन्तलाई बुझाइहाल्छन्। साथसाथै लगाइरहेको कपडा आदि तुरुन्तै परिवर्तन गरिन्छ । त्यहाँ तुरन्तै इको ( मुटुको भिडियो एक्स रे) गर्छन्। त्यहाँबाट ट्रलीमा राखेर क्याथल्याबसम्म पुर्याउने कार्यालय सहयोगी ट्रली लिएर आँखा नझिम्काउँदै आइपुग्छन्। ट्रलीमा राख्न र अपरेशन कक्ष (क्याथ ल्याब)सम्म पुर्याउने कार्यालय सहयोगीहरु पनि एकाएक जुर्मुराएको देख्दा कुनैपनि कार्यालयको सुरुवात त सानो मानिने कामबाटै हुने रहेछ। जहाँ सानोदेखि ठूलो पोस्टका कर्मचारी आफ्नो कार्य तुरुन्तै गर्ने बानी परेको हुन्छ, त्यस्तो संस्था एउटा विधि र अनुशासनमा बसेको हुन्छ।
बिरामीको आफन्तले सबै जोखिम र जटिलता बुझेर जे-जे पर्छ, उपचार गरिदिनुस् भनेर मन्जुरीनामा दिएको केही मिनेटमै क्याथ ल्याब पुर्याउन सबैजना हौसिन्छन्।
दृश्य हेर्दा लाग्छ, त्यहाँ जुर्मुराएका सबै कर्मचारीको आफ्नो गन्तव्यमा रमाना हुने अन्तिम ट्रेन छुट्नै लागेको छ। हुनपनि हार्टअट्याक भएपश्चात् प्रत्येक मिनेट हृदयका कोषिकाहरु मरिरहेका हुन्छन् । मुटुलाई रक्तसञ्चार गर्ने ब्लक भएका नशा नखोलेसम्म मुटु चिच्याइरहेको हुन्छ। व्यक्तिलाई दुखाइको रुपमा आफ्नो चित्कार सुनाइरहेको हुन्छ। ईसिजीमा मुटुले आफ्नो औडाहा र छ्ट्पटी पोखिरहेको हुन्छ।
त्यो समयमा पर्खाइ केवल मन्जुरीको हुन्छ। बिरामीको आफ्नो उपचार स्वयं निर्धारण गर्ने अधिकारबाट बन्चित त गर्न मिल्दैन।
तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ। रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक, नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो । तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्।
तपाइँको मुटुमा ब्लक भएको नशा खोल्ने क्रममै सघनकक्ष पनि तयार गरिसकिएको हुन्छ । उपचार सकिने बित्तिकै ट्रलीमा मनिटरसहित सिसियु ( कोरोनरी केयर युनिट ) मा पुर्याइन्छ। त्यसपछि उपचार मिहिन तरिकाले चलिरहन्छ ।
मुटुका बिरामीले यत्तिको उपचार प्राप्त गर्नु पनि प्रशंसनीय कुरा हो। हार्टअट्याकको उपचार जटिल नै हुन्छ । र, त्यसमा ज्यान जाने जोखिम त रहन्छ नै। त्यस्तो जोखिमबाट बचाउन प्रयासरत रहने गंगालाल अस्पतालका सम्पूर्ण व्यक्तिहरु धन्यवादका पात्र हुन्।
यो हृदयघातको उपचारमा ढिलो हुने भनेको बिरामीको मान्छेले मञ्जुरीनामा दिन ढिलो गरेमा मात्रै हो। बाँकी अरु नियमित सेवाका उपचार पनि उस्तै उदाहरणीय रहेछन्।
संस्था बलियो प्रणालीले हुन्छ भन्ने ज्वलन्त उदाहरण यही हो। थिति र अनुशासन बसाल्ने प्रयास गरौं। कार्यालय आफैं मजबुत बन्छ।
उही
दृष्यको द्रष्टा ।